काठमाडौं- बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालको मातहतमा ५ सय बेडको आइसोलेसन संचालनमा ल्याउने भएको छ। आइसोलेसन बेड संचालनका लागि प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले शनिबार अस्पतालको अनुगमनसमेत गरेका छन्।
चागुँनारायण नगरपालिका-७ को खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा आइसोलेसन संचालनको तयारी अघि बढाइने भएको हो। अनुगमनका क्रममा मन्त्री दुलालले थप ३ सय बेडको आइसोलेसनका लागि समन्वयको काम अघि बढाइने बताए।
अहिले प्राधिकरणको तालिम केन्द्रमा २ सय बेडको कोरोना संक्रमित राख्न सकिने आइसोलेसन संचालनमा छ। भक्तपुर अस्पतालमा अहिले एनआइसियू ६ र भेन्टिलेटरसहितको आइसियू ६ बेड संचालनको तयारीमा रहेको छ।
हाल २० बेड भक्तपुर अस्पतालको कोभिड ब्लकमा र २ सय बेड खरिपाटीस्थित आइसोलेसनमा संचालनमा आइसकेको छ। खरिपाटीमा अब थप ३ सय बेडको आइसोलेसनको संचालनका लागि प्रदेश सरकारले काम अघि बढाएको हो।
प्राधिकरणसँगको समन्वयमा थप ३ सय बेडसमेत गरी ५ सय बेड पुर्याइने मन्त्री दुलालले बताए। यसअघि प्रदेश सरकारले सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रसुवामा २५ शय्याको आइसोलेसन थप गर्नेगरी काम सुरु गरिसकेको छ। त्यस्तै, धादिङ, नुवाकोट र सिन्धुलीको सदरमुकाममा ५० शय्या, मकवानपुरमा २०० शय्याको आइसोलेसन संचालनमा ल्याउने गरी काम भइरहेको छ।
प्रदेश सरकारले सिन्धुली, धादिङ र नुवाकोटमा ४ शय्या, हेटौंडा र भक्तपुरमा १० शय्याको आइसियू पनि संचालनमा ल्याउने गरी काम अघि बढाइसकेको उनले बताए।
तस्बिरहरू




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।