महोत्तरी– वर्षौंदेखि अरुको बारी चहार्दै मुसा मार्ने र खेलकुदमै बाल्यकाल बिताउने परम्परा अन्त्य गर्दै मुसहर समुदायका बालबालिका विद्यालय जाने भएका छन्।
गौशाला नगरपालिका– ७ मनहर्वास्थित मुसहर समुदायका १ सय बालबालिका नजिकै रहेको नेपाल जनजाति आधारभूत विद्यालयमा भर्ना हुने भएका हुन्।
बस्तीका अरु बालबालिका झोला, कपी, कलम बोकी विद्यालय गइरहेको समयमा बस्तीका बालबालिका भने काँधमा कोदालो बोकी तरकारीको लागि मुसा मार्न अरुको बारी चहार्दै आएका थिए।
बालबालिका विद्यालय जाने भएपछि गौशाला नगरपालिकाले दिवा खाजा तथा विद्यालयको भौतिक संरचना निर्माणका लागि चासो देखाएको छ।
गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगर क्षेत्रभित्र रहेका हरेक बालबालिकालाई शिक्षित बनाउने अभियान सफल बनाउनका लागि सो बस्तीमा यस्तो अवधारणा ल्याएइको बताए।
धुर्मुस (सीतारम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले सो समुदायका १ सय बालबालिकालाई नजिकै रहेको आधारभूत विद्यालयमा यही बैसाख १३ गते भर्ना गराउने बताइएको छ।
बस्तीमा शिक्षाको ज्योति फैलिने स्थानीयवासी एवं अखिल क्रान्तिकारीका २ नम्बर प्रदेशका सचिव सूर्यनारायण साहले बताए।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाईले एक रात बिताएको सो बस्तीका बासिन्दा हालसम्म पनि शिक्षा, स्वास्थ्य तथा विकासको दृष्टिकोणले पिछडिएका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।