दमौली– पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।
दुर्घटनामा बुलेटका चालक र सहचालक गम्भीर घाइते भएका छन्।
भारतको हल्दीबारीबाट कास्कीको गगनगौडाको शक्ति ग्यास कम्पनीका लागि १८ टन खाना पकाउने एलपी ग्यास बोकेको एमएलओ१एएओ १ओ१ नम्बरको बुलेट दुर्घटना हुँदा भारत घर भएका चालक २२ वर्षीय छोटुलाल रुमार र सोही ठाउँका सहचालक २१ वर्षीय नितेशकुमार गम्भीर घाइते भएको प्रहरी उपरीक्षक उमेरराज जोशीले बताए।
घाइते दुवै जनाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए। शक्ति ग्यास बोकेको उक्त बुलेट अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको थियो।
बुलेट दुर्घटना भएको ठाउँमा अहिले सुरक्षाकर्मी तैनाथ गरिएको छ। ग्यास पड्कन सक्ने अवस्थालाई मध्यनजर गरी त्यस क्षेत्रमा उच्च सतर्कता अपनाइएको प्रहरी उपरीक्षक जोशीले बताए।
घटनास्थल वरवरका स्थानीय बासिन्दालाई घरदेखि पर बस्न र सलाई, लाइटरजस्ता प्रज्वलनशील वस्तु प्रयोग नगर्न आग्रह गरिएको छ। त्यहाँ वरिपरि आगो नबाल्न र घरदेखि टाढा बस्न बस्तीमा सर्कुलर गरिसकेको प्रहरीले जनाएको छ।
हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर व्यास नगरपालिकाको वारुण यन्त्र तयारी अवस्थामा राखिएको छ भने सो क्षेत्रको विद्युत् लाइन काटिएको प्रहरीले जनाएको छ। कास्कीको गगनगौडास्थित शक्ति ग्यास कम्पनीबाट प्राविधिकको टोलीसमेत ग्यास निकाल्न घटनास्थलतर्फ गइसकेको छ।
प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा र प्रहरी उपरीक्षक जोशीको टोलीले घटनास्थलमा पुगेर निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिइएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।