काठमाडौं-भारतका तीनवटा कम्पनीले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि नेपाललाई उपलव्ध गराउने भएका छन्। भारतीय फर्मास्युटिकल कम्पनीसँग औषधिका विषयमा कुराकानी भएको र उनीहरु औषधि दिन तयार भएको औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले पुष्टि गरेका छन्।
भारतीय सञ्चारमाध्यम हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै महानिर्देशक ढकालले भनेका छन्, ‘ “हामीलाई तीनवटा कम्पनीले हाम्रो मागबमोजिम रेम्डेसिभिर औषधि उपलब्ध गराउने छन्। हामीले यी तीनवटा कम्पनीबाट आएको रेम्डेसिभिर औषधिमात्र प्रयोग गर्न अनुमति दिएका छौं।’
तीनवटा भारतीय कम्पनी माइलान, सिप्ला र हेटेरो ड्रगले नेपालको मागबमोजिम औषधि उपलब्ध गराउने भएका छन्।
ती तीनवटा कम्पनीमध्ये माइलानले एन्टिभाइरल औषधि नेपाललाई उपलव्ध गराउन थालेको समेत जानकारी दिए। भने, ‘हामीले प्रारम्भमा ५७० भायल रेम्डेसिभिर माग गरेका थियौं, त्यो औषधि आइपुगिसकेको छ। भारतीय औषधि सहज र शीघ्र उपलब्ध हुनसक्ने भएकाले हामीले भारतबाटै रेम्डेसिभिर ल्याउने प्रतिबद्धता गरेका हौं ।
महानिर्देशक ढकालले भारतबाट लिँदा उक्त औषधिको मूल्य सस्तो पर्ने दाबी गरेका छन्। रेम्डेसिभिर आईसीयूमा भएका कोरोना संक्रमितका उपचारका लागि राम्रो मानिएको छ जुन औषधि नेपालमा उत्पादन हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।