महोत्तरी-कोभिड-१९ को सन्त्रासबीच महोत्तरीसहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ। मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ।
अहिले प्रदेश-२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ। पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयहरुले भदौ १० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । संक्रमणकाे जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मैथिल (मिथिलाका बासिन्दा) आफ्ना परम्पराभित्रका चाडपर्व मनाउँदै छन्।
चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, मिष्ठान्न परिकार खाजा (पिरुकीया) र खिर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्रआभूषण चढाइने परम्परा छ । पर्वको तयारीमा अहिले मैथिल हिन्दूहरु आफ्नो सामग्री जुटाउने तयारीमा छन् । पर्वमा घरमूली महिला दिनभरि निराहार ब्रत बसेर साँझ चन्द्र दर्शन गरेर यो पर्व समापन गर्छन् । ब्रतालुले एक दिनपूर्व नै ब्रत सङ्कल्प गरेर चोखोनितो भई बस्ने र सात्विक भोजन गर्ने परम्परा छ ।
भदौ शुक्ल चौथीका दिन मनाइने चौरचन पर्वमा साँझ सूर्यास्तपछि गाईको गोबरले लिपेर बनाइएको आँगन माझको अरिप्पन (चतुष्कोण यज्ञस्थल) मा दिप प्रज्वलित गर्दै घरमूली ब्रतालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर ब्रत समापन गर्ने परम्परा छ । खासगरी खिर, पुरी, दही र गच्छेअनुसारका अन्य परिकार तथा केरा र मौसमअनुसारका फलफूल चन्द्रमालाई देखाएर इष्टजनसहित परिवारजनलाई चतुष्कोण वेदीस्थलमै बसाएर प्रसाद ख्वाएपछि यो पर्व सम्पन्न गरिने परम्परा छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।