काठमाडौं- विदेशबाट उद्धार गरी हवाई उडानबाट स्वदेश फर्काइने नागरिकहरुलाई होटल क्वारेन्टाइनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराइने प्रतिवद्धता व्यक्त गरेका छन्। नेपाल सरकारबाट स्वीकृत कोभिड-१९ संक्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य संगठनको सिफारिस अनुरूपको स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गरी सेवा उपलब्ध गराइने निर्णय भएको होटल संघ नेपालले जानकारी दिएको छ।
स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुना न्यूनतम ७ रात होटलमा अनिवार्य बस्नुपर्ने र पिसिआर परीक्षणबाट संक्रमण नभएको प्रमाणित भएपछि मात्र चेकआउट गर्न पाउने लगायत पाहुनाले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान-बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको छ।
सरकारले जारी गरेको स्वास्थ्य मापदण्डअनुरुपका उपकरण र सामग्रीहरू सदस्य होटलहरूले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड-१९ संक्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकिरण तालिम समेत गराई सकिएको होटल संघ नेपालले जनाएको छ। क्वारेन्टाइनका लागि सेवा उपलब्ध गराउने होटल संघ नेपालका सदस्य होटलहरु पर्यटकस्तरीय देखि पाँच तारेसम्म रहेका छन्।
मूल्य अभिवृद्धि कर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरूले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको जानकारी दिइएको छ। राष्ट्रिय संकटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरूले उपलब्ध गराउने सेवाहरु नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यसमाथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि होटल संघ नेपालले जनाएको छ।
होटल संघ नेपालका सदस्य होटल नेपाल सरकार पर्यटन विभागअन्तर्गत रही सम्बन्धित कर कार्यालयमा दर्ता भई नेपाल सरकारको होटल मापदण्ड अनुसार सञ्चालनमा रही आएको पनि होटल संघ नेपालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।