काठमाडौंं–त्रिचन्द्र क्याम्पसले भवन पुनर्निर्माणका लागि कुनै सनुवाइ नभएको गुनासो गरेको छ। आफ्नो १०३ औं वार्षिकोत्सवमा शुभकामना सन्देश दिँदै क्याम्पसले भवन पुनर्निर्माण नभएको गुनासो गरेको हो।
‘महाभूकम्प २०७२ ले केही पूर्ण तथा केही आंशिक रुपमा क्षति गरेका भवनहरुको पुनर्निमाणका लागि पटक–पटक सम्बन्धित निकायमा अनुरोध गरिएको भएता पनि हालसम्म कुनै सुनुवाइ नभएको कुरा जानकारी गराउन चाहन्छु,’क्याम्पस प्रमुख सुनील अधिकारीले सन्देशमा भनेका छन्।
उनले कोभिड–१९ महामारीका कारण वार्षिकोत्सव मनाउन औपचारिक रुपमा नपाइए पनि यस अवसरमा सबैमा शुभकामना दिएका छन्।
हाल करिब १३ हजार विद्यार्थी अध्ययनरत क्याम्पसले आफ्ना सीमित क्षेत्रफलमा स्थापित कमजोर पूर्वाधारका बाबजूद पनि निरन्तर शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको क्याम्पसले उल्लेख गरेको छ।
राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराले १९७५ भदौ ५ गते यो कलेज स्थापना गरेका हुन्। नेपालमा कुनै पनि विश्वविद्यालय नभएको अवस्थामा यस क्याम्पसको सम्वन्धन कलकत्ता विश्वविद्यालयबाट लिइएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।