काठमाडौ–सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरोपीडिलाई ‘आक्वा किट बक्स’ वितरण गरिएको छ। रोटरी क्लब अफ भादगाउँको सहयोग र कांग्रेस नेता सागर श्रेष्ठको पहलमा लिदिका ७८ परिवारलाई आक्वा बक्स वितरण गरिएको हो।
आक्वा बक्समा मानिसलाई विपदका बेला आवश्यक पर्ने प्लेट, चम्चादेखि तौलिया, कैची, त्रिपाल, बिस्कुट, हम्मर, बाटा, साबुन, प्याड, मास्क, चिउरा, चाउचाउ, कुकिजलगायतका सामग्रीहरु हुन्छन्। एउटा आक्वा बक्समा ५ सय डलरका सामान (करिब ५० हजार बराबरको ) हुने श्रेष्ठले बताए।
ती सामग्रीले विपदमा परेका पीडितलाई धेरै राहत मिल्ने भएकाले वितरण गरिएको उनले बताए। ती सामग्री बोकेर तीन दिनमा लिदि पुर्याइएको थियो। अप्ठ्यारो बाटो, लगातार आइरहेको पानी र ठाउँ–ठाउँमा गएको पहिरोहरुलाई छिचोल्दै तीन दिनमा वडाध्यक्ष सनत अधिकारीको नेतृत्वमा ती सामान लिदि पुर्याइएको हो।
आफ्ना गाउँपालिकाका जनता दुःखद अवस्थामा भएकाले उनीहरुको सहयोगका लागि रोटरी क्लबले उपलब्ध गराएको सामग्री स्थानीय युवाहरुले बोकेरै लिदि पु¥याएको जुगल ५ का वडाध्यक्ष अधिकारीले बताए।
ती ३८ आक्वा बक्स ढुवानीका लागि काँग्रेस जुगल गाउँपालिकाले ३२ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ।
यसैबीच, पहिरो पीडित ३९ जनालाई नेता श्रेष्ठको एकल पहलमा कपडा वितरण गरिएको छ।
शव निकाल्न नसक्दा गन्हाउन थाल्यो
एक हप्ता बितिसक्दा पनि लिदिमा पुरिएकाहरु सबैको शव निकाल्न नसक्दा गन्हाउन थालेको छ। ती शवहरुबाट विभिन्न रोगको जोखिम देखिएको छ। ‘सबैको ध्यान राहतमा मात्रै केन्द्रित भएको पाइयो,’ श्रेष्ठले भने।
बस्ती स्थानान्तरण र पुरिएकाहरुको उद्धारमा सरोकारवालाहरुको ध्यान नगएको स्थानीयको गुनासो छ। आवश्यक स्रोत र साधन नहुँदा कुटो र कोदालाकै भरमा वेपत्ताहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव काफ्लेले बताए।
पुरिएकाको खोजीमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना अहोरात्र खटिएको छ तर उत्खननका लागि आधुनिक स्रोतसाधन नहुँदा समस्या भएको काफ्लेको भनाइ छ। गाउँपालिकाले पुरिएकाको खोजीका लागि जेसीबी लैजाने बताए पनि सडक लिदिसम्म नपुगेको र बीचबीचमा सडक पनि धेरै बिग्रिएकाले पहिरो गएको हप्ता दिन बितिसक्दा पनि जेसीबी पुगेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।