काभ्रे-कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर कोभिड-१९ जिल्ला संकट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकले बिहीबारदेखि जिल्लामा सञ्चालनमा रहेका सार्वजनिक यातायात पूर्णरुपमा रोक लगाएको छ।
देशव्यापी रुपमा बढ्दै गएको संक्रमण जिल्लामा पनि दैनिक रुपमा बढ्दै गएकाले यातायातको साधन यही भदौ १० गतेसम्मका लागि बन्द गर्नुपरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए।
जिल्लाका मुख्य बजार क्षेत्र धुलिखेल, पनौती, बनेपा, पाँचखाल र नमोबुद्ध नगरपालिकाका बजार क्षेत्रमा अनावश्यकरुपमा मानिसको भीडभाड तथा आवागमन बढ्दै गएको कारण कोरोना संक्रमण कम गर्नका लागि अर्को सूचना जारी नभएसम्म व्यापारव्यवसाय र अन्य खरिद बिक्रीजन्य क्रियाकलापसमेत निश्चित समयमा मात्रै गर्न निर्देशन दिइएको छ। जसमा हरेक बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सञ्चालन गर्न निर्देशन दिइएको छ ।
जिल्लामा कोभिड-१९ संक्रमणका कारण १०२ जना विभिन्न स्थानमा रहेको आइसोलेसनमा राखेर उपचार भईरहेकोमा ३८ जना उपचारपश्चात घर फर्किएका छन् र ६२ जनाको विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिए। संक्रमणबाट काभ्रेमा दुई जनाको निधन भईसकेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।