काठमाडौं- जिल्ला अदालत काठमाडौंले एसिड प्रहार गर्ने दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। काठमाडौंको बाफल एसिड आक्रमणमा संलग्न भएका मोहम्मद आलम र फैयाज आलमलाई काठमाडौं जिल्ला अदालतले बिहीबार थुनामा पठाउन आदेश गरेको हो।
ओखलढुंगाकी पवित्रा कार्कीमाथि साउन ८ गते एसिड प्रहार भएको थियो। प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै उनीहरुले एसिड प्रहार गरेका थिए। उनीहरु घटनामा संलग्न होइन भन्न सकिने अवस्था नभएको भन्दै हाललाई थुनामा राख्ने आदेश जिल्ला अदालतले गरेको हो। न्यायाधीश कृष्णजंग शाहको इजलाशले उनीहरुलाई प्रारम्भिक प्रमाणका आधारमा थुनामा पठाउने निर्णय गरेको हो।
जिल्ला अदालतले एसिड पीडित युवतीलाई पीडित राहत कोषबाट २ लाख रुपैयाँ उपचारका लागि उपलब्ध गराउन पनि भनेको छ।
साउन ८ गते राति कार्कीमाथि काठमाडौंको बाफलमा सँगै खाजा खान बोलाएर फर्किने क्रममा मोहम्मद आलमले आफ्ना सहयोगी फैयाज आलमलाई प्रयोग गरी एसिड आक्रमण गरेका थिए। पवित्रा हाल कीर्तिपुर अस्पतालमा उपचाररत छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।