काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पहिलोपटक चिनी खरिद गर्न लागेको छ। यसअघि चामल, गहुँ, दाल, गेडागुडीजस्ता खाद्यान्न सामग्रीको खरिद बिक्री गर्दै आएको पूर्ण सरकारी स्वामित्वको यो कम्पनीले दशैं तिहारलगायत चाँडबाडको समयलाई लक्षित गर्दै चिनी खरिद गर्न लागेको हो।
कम्पनीले विरगंज र पर्सा कार्यालयका लागि ७ हजार ५ सय मेट्रिक टन र भैरहवा तथा रुपन्देही कार्यालयका लागि २ हजार ५ सय मेट्रिक टन चिनी खरिद गर्न लागेको हो। बिहीबार कम्पनीले सूचना जारी गर्दै ४५ दिने अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरी उक्त परिमाणको चिनी खरिद गर्न लागिएको जनाएको छ।
यसपटक दशैं, तिहार, छठजस्ता चाँडबाड कात्तिकपछि मात्र भएका कारण त्यो अगावै चिनी खरिद गरी बजारमा पुर्याउने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले बताए। चाडबाडका बेला चिनीको बजार माग बढी हुने भएका कारण मागअनुसार आपूर्तिको सन्तुलन मिलाउनका लागि पनि कम्पनीले चिनी खरिद गर्न लागेको उनले बताए।
यसअघि निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने र बजारमा सन्तुलन कायम गर्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी खरिद गर्दै आएको थियो भने चाडबाड लक्षित सहुलियत पसल पनि संचालन गर्दै आएको थियो। अहिले पनि साल्ट्र ट्रेडिङले बेच्ने चिनीमा उपभोक्ताले प्रतिकिलो ५ रुपैयाँ अनुदान छुट पाउँछन्।
सरकारले खाद्य व्यवस्था कम्पनीमार्फत् खरिद गर्न लागेको चिनी पनि चाडबाड लक्षित भएका कारण बजार मूल्यभन्दा केही छुटसहित बिक्री वितरण गर्ने योजना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।