काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नवगठित कार्यदलका सदस्यहरु बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीले बोलाएपछि उनीहरु बालुवाटार गएको बुझिएको छ।
कार्यदल गठनपछि पनि प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नियुक्ति गरेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच असझदारी उत्पन्न भएको छ। जसको प्रभाव कार्यदलमा पनि परेको छ। यद्यपि, कार्यदलले ओलीले राजीनामा दिनुनपर्ने गरी सहमति खोज्ने प्रयत्न गरिएको बुझिएको छ।
कार्यदलका सदस्यहरु बालुवाटार पुगिसकेको एक सदस्यले जानकारी दिए। त्यहाँ प्रधानमन्त्रीले कार्यदलको प्रगति विवरण सुन्ने वा आवश्यक ब्रिफिङ गर्ने सक्ने उनको अनुमान छ। अर्का अध्यक्ष प्रचण्ड भने बालुवाटार गएका छैनन्।
नेकपाभित्रको बढ्दो विवादको समाधान सूत्र खोज्न गत शुक्रबार अध्यक्षद्वय ओली र प्रचण्डले ६ सदस्यीय कार्यदल गठन गरेका थिए। बिष्णु पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य छन्।
शुक्रबार गठन भएको कार्यदलको बैठक शनिबार र आइतबार भैंसेपाटीमा बसेको थियो। पौडेल निवास नजिकको एक निजी घरमा बैठक बसेको थियो। सोमबार भने कार्यदलको बैठक बसेन। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बैठक बसेको थियो। यसैबीच प्रधानमन्त्रीले विभिन्न राजनीतिक नियुक्तिहरु गरेपछि पार्टी नेतृत्वमा उत्पन्न असझदारीको असर कार्यदलमा पनि परेपछि बुधबार बैठक बस्न सकेन।
बिहीबार पनि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसोका लागि स्थगित गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।