काठमाडौं-कोरोना भाइरस (कोभिड-१९) को संक्रमण न्यून गर्न काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा उल्लङ्घन गरेर सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गए राति १२ बजेदेखि लगाइएको निषेधाज्ञाको उल्लङ्घन गरेर चलाइएका ८९३ सवारी होल्ड गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार राति १२ बजेदेखि दिउँसो १ बजे १३ घण्टाको बीचमा उक्त सवारी नियन्त्रणमा लिएर होल्ड गराइएको हो।
होल्ड गराइएकोमा दुई पांग्रे (मोटरसाइकल, स्कुटर) ६९८ र चार पांग्रे १९५ गरी ८९३ सवारी छन् । होल्ड गराइएका सवारीलाई अवस्था हेरेर साँझमात्रै छाडिने प्रहरीले जनाएको छ ।
यस्तै बिना काम सडकमा हिँड्नेलाई समेत प्रहरीले केहीबेर होल्ड गराएर सम्झाईबुझाई छाड्ने गरेको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बैठकले १० गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । काठमाडौंमा कोरोनाको संक्रमण दर बढ्दै गएकाले प्रशासनले लगाएको निषेधाज्ञालाई अटेर गरेर उल्लङ्घन गरेमा संक्रामक रोग ऐन अनुसार कारबाहीसमेत गरिने प्रशासनले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।