काठमाडौ-साउन २२ गते संसदका एक उच्च कर्मचारीलाई कोरोना पोजेटिभ भएको खबर सार्वजनिक भयो। ४ बजेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङअघि नै सञ्चार माध्यममा यो खबर भाइरल भइसकेको थियो। यसअघि प्रतिनिधि सभाका सांसद प्रदीप यादव र उनका पिए लगायतलाई कोरोना पुष्टि भएको थियो। संसद सचिवालयको लेखा समितिका सचिव रोजनाथ पाण्डेलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि सबैले स्वास्थ्य लाभको कामना गर्न थाले।
उनी लेखा समितिले अध्ययन थालेको वैज्ञानिक वन व्यवस्थापनमा भएको अनियमितता हेर्न तराई-मधेशका जिल्ला भ्रमणमा गएका थिए ।
‘मलाई १७ गते बेलुकादेखि नै ज्वरो आउन थाल्यो। २० गतेसम्म टाउको दुख्ने, पखाला लाग्ने भइरह्यो,’ आफूलाई संक्रमण भएको सम्झँदै पाण्डेले भने, ‘कोरोना जाँच उतिखेरै हुँदैन, भए पनि तत्काल देखिँदैन भनेर २० गतेसम्म कुरेर बसेँ। २० गते स्वाब दिन वीर अस्पताल गएँ। २२ गते पोजेटिभ रिपोर्ट आयो,’
कोरोनाको लक्षण मिलेकाले पोजेटिभ आउने आफू लगभग ढुक्कजस्तै भए पनि परिवारले धेरै पिर मानेर तनाव लिइरहेको उनले प्रत्यक्ष देखेका थिए। तर पनि केही हुँदैन भनेर परिवारलाई ढाडस दिँदै आएका थिए।
तर रिपोर्ट पोजेटिभ आएपछि उनी थप चिन्तामा परे। के गर्ने–कसो गर्ने भयो। अस्पताल बस्ने कि घरमै भन्नेमा केही समयमा दोधारमा परे। तर उनले आपतै परे अस्पताल जाने, नत्र घरमै बस्ने निधो गरे। उनले यो सोच बनाइसक्दासम्म पनि परिवारमा अरुलाई केही थाहा थिएन। घरमा निकै तनाव भइरहेको थियो। उनलाई कोरोना पोजेटिभ रिपोर्ट आउँदासम्म टाउको दुख्ने, ज्वरो आउने समस्या हटिसकेको थियो।
‘परिवारलाई केही हुँदैन भनेर आडभरोसा दिन र अब मलाई केही हुँदैन भन्ने आत्मविश्वास पलायो, अनि परिवारका सदस्यलाई रिपोर्ट पोजेटिभ आएको र घरमै आइसोलेसनमा बस्ने बताएँ’ पाण्डेले भने, ‘लक्षण हटिसकेकाले केही आपत परे अस्पताल जाने गरि घर त बसेँ, तर अब परिवारमा संक्रमण भयो कि भन्ने चिन्ता थपियो।’
एक हप्तासम्म कन्ट्याक्ट ट्रेसिङ गर्नै आएनन्
सहसचिव पाण्डेले सरकारको काम गर्ने शैलीका बारेमा संक्रमित भएर बसेपछि राम्रोसँग भोग्न पाए। संसदको सहसचिवजस्तो व्यक्तिको घरमा समेत सरकारका तर्फवाट यत्रो लापर्बाही गरिन्छ भने सर्वसाधारणको अवस्था के होला भनेर अहिले उनी निकै भावुक हुन्छन्।
‘मलाई कोरोना पुष्टि भएपछि परिवार र मेरो सम्र्पकमा आएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्न आउलान् भन्ने लागेर एक हप्तासम्म कतै खोजखबर गरिनँ,’ पाण्डेले भने, ‘तर कोही सम्पर्कमा आएनन्, त्यसपछि आफैँ फोन गर्न थालेँ।’
उनले आफ्नो वडामा फोन गरे, कोही सम्पर्कमै आएनन्। नगरपालिकामा आफूले चिने जानेका मानिसहरुलाई समेत सुनाए, तर पनि कोही आएन। अब उनलाई झन् डर लाग्न थाल्यो। परिवारका अन्य र आफ्नो सम्र्पकमा आएका व्यक्तिमा पोजेटिभ आएमा आफू जिम्मेवार हुने र कसैलाई केही भइहाल्ने पो होकि भन्ने चिन्ताले सतायो। स्थानीय सरकारको हालत देखेर उनी दिक्क भए। त्यसपछि उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा फोन गरे।
यसरी संक्रमित भए पाण्डे
गत साउन १४ गते बिहान काठमाडौंबाट पाण्डेसहित लेखा समितिको टोली वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा निस्किएको थियो । उनीहरुले उक्त दिन सिन्धुलीको वन फडानी अनुगन गरे। स्थानीय, उपभोक्ता समिति र जिल्ला वन कार्यालय गएर डीएफओ र कर्मचारीहरुसँग छलफलका साथै कागजात संकलन गरेर टोली बर्दिबास गएर बस्यो ।
टोलीले सिन्धुलीमा तीन ठाउँमा छलफल गरेको थियो । वन उपभोक्ता समितिको कार्यालय, जिल्ला वन कार्यालय र फिल्डमा उनीहरु खटिएका थिए। जिल्ला वन कार्यालयमा भएको अन्तिम छलफलमा सांसद प्रदीप यादव पनि सहभागी भएका थिए। १५ गते लेखा समितिको टोलीले सर्लाही, रौतहट, बारा र पर्साका जिल्ला वन कार्यालय, फिल्ड र वनमा गएर डीएफओ, सामुदायिक वनका पदाधीकारी र उपभोक्तहरुसँग छलफल गर्यो।
बेलुकी टोली सिमरा आएर इच्छा होटलमा बस्यो। सांसद प्रदिप यादवको टोली अर्कै ठाउँमा बसेको थियो। छलफलको क्रम निरन्तर नै थियो। १६ गते पर्सा जिल्ला वन कार्यालयमा लेखा समितिले छलफल गरेको थियो। उनीहरु त्यहाँवाट हेटौंडा आए। बेलुकी नारायणघाटमा बास बसे ।
१७ गते बिहान नवलपरासीमा वन फडानी हेरेर सामुदायिक वन समूहका मानिसहरुसँग छलफल गरेर काठमाडौ फर्के । उनीहरु काठमाडौ आइनपुग्दै सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको खबर आयो । ‘तीन दिनसम्म सँगै रहेका सांसदलाई कोरोना पुष्टि भएपछि मलाई पनि हुनेमा म ढुक्क थिएँ,’ उनले भने, ‘काठमाडौं फर्केर घरमा म छुट्टै बसें।’
‘१७ गते नै केही लक्षण देखिएकाले खाना नमिलेको हो कि कोरोना हो कि भन्ने दोधारमा परेको थिएँ तर सँगै रहेका सांसदलाई कोरोना पुष्टि भएपछि मलाई पनि भयो भन्ने मनमा लागेको थियो,’ पाण्डेले भने ।
११ औ दिनमा बल्ल आयो मन्त्रालयको टोली
संक्रमित भएको ११ दिनपछि बल्ल मन्त्रालयको टोली स्वाब संकलनका लागि आयो।
‘मेरो फोनपछि ११ औं दिनमा २७ गते बुलुकी ईडीसीडीको टोली आएर स्वाब लिएर गयो,’ पाण्डेले भने, ‘तीन दिनपछि परिवारका सबैको नेगेटिभ रिपोर्ट आयो ।’ परिवार र सम्पर्कमा आएका व्यक्तिको रिपोर्ट नेगेटिभ आएपछि उनी बल्ल ढुक्क भएर आइसोलेसनमा बस्न सके।
उनीहरुले विभिन्न जिल्लामा भेटेका मानिसहरुको स्वाव संकलनपछि संक्रमण नभएको खबर पाए ।
धेरै मानसिक तनाव खेप्नुपर्यो
शारीरिक रुपमा धेरै अस्वस्थ नभए पनि यो अवधिमा धेरै मानसिक तनाव खेपेको उनको अनुभव छ। ‘११ दिनसम्म न कन्ट्याक्ट ट्रेसिङ, न परिवारको चेक भयो,’ उनले अनुभव सुनाए, ‘वरिपरिका मान्छेसँग सम्बन्ध छैन, ढोका बन्द छ , वडाका मान्छेहरुलाई फोन ग¥यो आउँदैनन्,परिवारलाई केही हुने हो कि भन्ने पिर लागिरह्यो।’
यो अवधिमा धेरै तनाव परिवारको परीक्षण नहुँदाका समयमा भोगे उनले। जनताको सुविधा र सेवाका लागि लागि निर्वाचित भएका जनप्रतिनिधि कति लापर्बाही गर्छन् भन्ने उदाहरण उनी आफंैले भोगे।
‘अलि–अलि भन्न सक्ने र बोल्न सक्ने मानिसले त यो अवस्था भोग्न पर्यो भने सर्वसाधारण जो पहुँचविहीन छन्, तिनको अवस्था के होला,’ पाण्डेले भने, ‘पाण्डेले भने, ‘स्थानीय सरकार निकै लाचार र बेपर्वाह पाएँ।’
‘कन्ट्याक्ट ट्रेसिङ गर्न टेकुमा सोध्दा वडाबाट आउँछ, हामीले नाम पठायौं भने, वडा र महानगरपालिकालाई सोध्दा मान्छे छैन, हामीले कति ठाउँमा भ्याउने भने। भोलि, पर्सी आउने भने, तर आएनन्,’उनले भने।
टोलका मानिस सशंकित आँखाले हेर्थे
अघि, पछि सधै सम्मान पाउने छिमेकी र टोलबाट पनि उनले अपमान भोगे।
‘सशंकित नजरले मेरो घरतिर हेर्छन्,’ पाण्डेले अनुभव सुनाए, ‘मेरो कारणले गर्दा भाडामा बस्नेका परिवारसमेत बन्दाबन्दीमा परेका थिए, उनीहरु कतै निस्के पनि टोल–छिमेकी पर सर्ने, अर्कै व्यवहार गरेको मैले अनुभव गरेँ।’
परिवारका सदस्यहरु बजारमा जान, तरकारी ल्याउन र पानीसम्म किन्न पनि धेरै समस्या भोग्नु परेको उनको अनुभव छ।
‘लामो समय ट्रेसिङ नगराउँदा र स्वाब नलिँदा मेरो कारण अरुलाई समेत तनाव भयो,’ पाण्डेले भने। उनले यही विषयमा वडाका एक जनासँग झगडा नै गरे। 'मेरो सम्पर्कमा रहेका १५ जनाको परीक्षण गर्न मैले सूची दिएको थिएँ तर उनीहरुले १० जनाको भन्दा नगर्ने भनेपछि केही विवाद नै भयाे,' उनले भने। ईडीसीडीले स्वाब लिएको दुई दिनपछि वडाले सम्पर्क गर्यो। यसबाट उनी झन् निरास भए र रिस पनि उठ्यो। ‘मैले अब तपाईंंहरु आउनु पर्दैन, अर्को ठाउँमा जानुस् भनिदिएँ,’ उनले भने, ‘११ दिनसम्म सम्पर्कविहीन भएका वडाका मान्छे मेरै पहलमा स्वाब संकलन भएपछि किन चाहियो।’
वडाबाट समयमै नआइए दिएपछि आफूले विकल्प खोजेको उनले बताए। ‘घर नम्बर थियो, मेरो सम्पर्क नम्वर थियो अनि टेकुबाट आएको खबर पनि थियो,’ उनले भने, ‘स्थानीय सरकारको व्यवस्थापन यहाँनेर त्यति गतिलो भएन। महानगरपालिका सुविधासम्पन्न छ। हामी त्यत्रो कर तिर्छौं, तर पनि यस्तो लापर्बाही किन? ’
१८ दिनमा जिते कोरोना
उनी १८ दिनसम्म आइसोलेसनमा बसेर वुधबार निस्केका छन्। उनले आइसोलेन बसाइलाई उपलब्धिमुलक पनि बनाएका छन्। कार्यालयको बाँकी काम गर्ने, स्टाफ कलेजको तालिम लिनेदेखि उनले मनमा लागेका कवितासम्म लेखे।
‘मैले हरेक समयमा आफूलाई व्यस्त राख्ने प्रयास गरेँ र सफल पनि भएँ’ पाण्डेले भने, ‘लेखा समितिका पेन्डिङ काम सक्ने मौकाको रुपमा सदुपयोग गरेँ।’
डाक्टरले ज्वरो आयो भने सिटामोल खान भनेका थिए। नत्र, मनोरञ्जन गर्ने, बस्ने भन्ने सल्लाह दिएकाले उनले त्यसको पालना गरे। ‘संक्रमित भएर कोठामा एक्लै बस्दा मनमा बढी नकारात्मक कुरा खेल्दा रहेछन्,’ उनले भने ‘धेरै दिन बस्नुपर्दा निकै गाह्रो हुँदो रहेछ ।’ तर पनि आफूलाई भरसक व्यस्त राखेको उनको अनुभव छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।