काठमाडौं– नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको ५ खेलको सिरिजको अन्तिम खेल सात विकेटले जितेको छ।
१९२ रनको मध्यम लक्ष्य पाएको नेपालले ४० औं ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। अन्तिम खेलमा विजयी भएसँगै नेपालले पाँच खेलमा तीन खेल जित्दै सिरिजसमेत जितेको छ।
नेपालको जितका लागि दुई जना ब्याट्सम्यानले अर्धशतक बनाए। ओपनर आकाश त्रिपाठी र मयन यादवले अर्धशतकीय पारी खेलेका हुन्। आकाशले नटआउट ८१ रन बनाउँदा मयनले ५० रन जोडे।
यस्तै अर्जुन कुमालले २१ रन बनाउँदा सन्तोष यादव ४ रन बनाए। कर्नाटकका लागि प्रणव अश्वशले २ तथा तेजसले एक विकेट लिए। पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो। कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो। टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे।
अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए। त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए। गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले। नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए। त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए।
समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २-२ विकेट लिए। पहिलो खेल जितेको कर्नाटकले दोस्रो र तेस्रोमा हार व्यहोरेको थियो। चौथो जिते पनि पाँचौंमा हार्दै सिरिज पनि कर्नाटकले गुमाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।