काठमाडौं- संसदका सभा अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन 'भर्चुअल' माध्यमबाट सुरु भएको छ।
अन्तर व्यवस्थापिका संघ (आपियू) र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ अष्ट्रिया)को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी भएका थिए। सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्याल सहभागी थिए।
प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगस्टका लागि तय भएको थियो। तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट सम्मेलन बुधबार सुरु भएको हो।
सम्मेलन सन् २०२१ मा पुन: अष्ट्रियामा नै आयोजना हुने आइपियूको सचिवालयले जनाएको छ। सयभन्दा बढी देशका संसदका सभाध्यक्ष नेतृत्वको टोली सहभागी रहेको सम्मेलनको मुख्य विषय 'मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व' रहेको छ।
सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रवर्द्धनलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ। सम्मेलन भर्चुअल भएकाले सहभागी राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन्।
नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत् धारणा व्यक्त गरेका थिए।
नेपाल अहिले नयाँ संविधान निर्माण गरी दिगो विकासको लक्ष्य प्राप्तिका लागि 'समृद्ध नेपाल, सुखी नेपाली' को नारासहित अगाडि बढिरहेको बताए।
विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधी नियमित हुने बताए।
'हाल विश्व समुदायले भोगिरहेको कोभिड-१९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधीहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,' उनले भने, 'आर्थिक स्थायित्व, रोजगारी सृजना र स्वास्थ्य क्षेत्रमा सृजित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो।'
भर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आइपियू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आईपीयू महासचिव मार्टिन चुङगोङले बोलेका थिए।
बिहीबारसम्म चल्ने दुई दिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।