काठमाडाैं-राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज नेपालभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना संक्रमणका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन।
विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मिएका भट्टकाे विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन निधन भएको थियो। ३० वर्षको उमेरमा निधन भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए। नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनकाे छ।
भट्टले आदिकवि भानुभक्तले रचना गरेकाे रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए। भानुभक्तलाई चर्चामा ल्याउने काम उनैले गरेका थिए। भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।
उनले नेपाल र बनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएकाे नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।