काठमाडौं- मरेको कुखुराको मासु बेच्ने काठमाडौं महानगरपालिका भिमसेनगोलास्थित बि एण्ड बि मिटमार्टलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।
मरेका कुखुरा बिक्री वितरण गर्ने उद्देश्यले उक्त मासु पसलको सटरभित्र लुकाएर राखेको अवस्थामा भेटिएपछि विभागले आइतबार कारबाही गरेको हो।
विभागका सहायक प्रवक्ता ध्रुव खनालका अनुसार काभ्रेबाट काठमाडौं ल्याउने क्रममा बाटोमा गाडी पल्टिएपछि कुखुरा मरेका थिए। ‘बि एण्ड बि मिटमार्टले झिकाएको कुखुरा सबै मरेपछि पनि धमाधम सटरभित्र हालेको स्थानीयले देखेर प्रहरीलाई खबर गरेछन्। प्रहरीले विभागलाई जानकारी दिएपछि हामी अनुगमनमा गएका थियौं।’ खनालले भने, ‘मरेका कुखुरा मोटरसाइकलबाट ओसार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।’
मरेको कुखुरा अखाद्य वस्तु भएका कारण कारबाही गरिएको पनि खनालले बताए। उनका अनुसार पसलभित्र मरेका कुखुरा काटिरहेको अवस्थामै प्रहरीले भेट्टाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।