केही दिनयता काठमाडौं महानगरपालिकाको वडा २९ को प्रायः सबै स्थानमा कोरोना फैलिसकिको छ। सबैभन्दा बढी घट्टेकुलो क्षेत्रमा कोरोना फैलिएको छ। अनामनगरमा पनि एउटा घरको परिवारमा कोरोना देखिएको थियो। त्यस्तै वडाका अन्य क्षेत्रमा समेत कोरोना फैलिसकेको छ। सोमबारसम्म २ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमितहरूमा अधिकांश व्यापारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अन्य मजदूरहरु छन्।
सुरुको अवस्थामा केही भारतीय तथा बाहिरबाट आएकाहरूमा कोरोना देखिएको भएपनि पछिल्लो समय ट्राभल हिस्ट्री नभएकाहरूमा समेत कोरोना देखिन थालेको छ। बाहिरबाट आएकामार्फत कोरोना समुदायमा फैलिएको भन्ने वा के भन्ने अहिले ट्राभल हिस्ट्री नभएकाहरुमा कोरोना देखिएको छ।
कोरोनाको जोखिम बढ्दै गएपछि यसको नियन्त्रण तथा रोकथामका लागि हामीले वडामा सञ्चालन हुँदै आएका सैलुन, ब्युटिपार्लर, भिडभाड हुने होटल, अत्यावश्यक बाहेकका पसल बन्द गर्न भनेका छौँ। तर बन्द गर्ने भनेका कतिपय पसलहरु पनि पूर्णरूपमा बन्द हुन सकेको छैन। ठेलागाढा तथा फुटपाथ व्यापार नगर्न भनेर निर्देशन दिए पनि मानिसहरुले अटेरी गर्दा झन् भीड बढेको छ।
एक घण्टा अगाडि फुटपाथको व्यापारीको भीड हटायो एक घण्टा पछाडी फेरि उस्तै बजार लागि हाल्छ। हामीसँग त्यत्रो ठूलो शक्ति पनि छैन। भिड नियन्त्रणमा तथा कोरोना रोकथामका लागि केन्द्र सरकारबाट केही सहयोग प्राप्त भएको छैन। अर्कातिर नागरिक आफैँ पनि सचेत नहुँदा जोखिम बढेको छ।
टेकु अस्पतालले वडा बासिहरुको निः शुल्क कोरोना परीक्षण गरिरहेको छ। तर अहिले टेकु अस्पताल संक्रमितले भरिएको अवस्था छ। वडा वासिहरूलाई कोरोना संक्रमण भइहाल्यो भने पनि जुन पायो त्यहि अस्पतालले लिन मान्दैन। जसले गर्दा अधिकांश संक्रमितहरु होम आइसोलेसनमा नै राखिएको छ। होम आइसोलेसनमा रहँदा अप्ठ्यारो भयो भने मात्र अस्पताल पठाइने तयारी गरिएको छ।
त्यसका लागि हामीले बिरामीहरु सबैलाई एम्बुलेन्स नम्बर उपलब्ध गराएका छौँ। उहाँहरूलाई अप्ठ्यारो भएमा फोन गरेर एम्बुलेन्स बोलाएर अस्पताल जान सक्नुहुन्छ।
अहिले वडामा २६ जनामा कोरोना देखिँदा यस्तो जटिल अवस्था सिर्जना भएको छ। अझ कोरोना बढ्दै जाँदा के हालत होला? सरकारले त कोरोना संक्रमण न्यूनिकरणका लागि केही पहल गर्न सकेको छैन वडाले के गर्ने हो र?
वडासँग छुट्टै बजेट छैन। भन्न त केन्द्र सरकारले स्थानीय तहसँग समन्वय गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौँ भनिरहेको छ। तर केन्द्र सरकारले कोरोना नियन्त्रणका सन्दर्भमा स्थानीय तहसँग उचित समन्वय गर्न सकेको छैन।
वडाले आफ्नो तर्फबाट गर्न सक्ने जति काम गरिरहेको छ। पछिल्लो समय सम्भावित संक्रमित तथा अन्य संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ। जनचेनता जगाउने काम गरिरहेका छौँ। हामीले सकेसम्म त पहल गरिरहेकै छौँ।
(काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडाध्यक्ष ढकालसँग नेपाल लाईभकर्मी निर्मला घिमिरेले गरेको संवादमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।