फाइल तस्बिर
काठमाडौं-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज सोमबार बिहान साढे ९ बजे बस्दैछ।
नेकपामा जारी विवादको समाधानका लागि गठित कार्यदललाई सचिवालयले अनुमोदन गर्नुपर्ने माग उठेको सन्दर्भमा बैठक बस्न लागेको हो।
विवाद समाधानका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। विष्णु पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल, सुरेन्द्र पाण्डे सदस्य छन्।
कार्यदलका सन्दर्भमा सचिवालयकै कतिपय सदस्यले असन्तुष्टि व्यक्त गरेका छन्। असन्तुष्ट नेताहरुले कार्यदललाई सचिवालयबाट अनुमोदन गर्नुपर्ने बताएका थिए। आजको सचिवालय बैठकले कार्यदल गठनको विषयलाई अनुमोदन गर्ने अनुमान गरिएको छ।
कार्यदलको बैठक शनिबार र आइतबार महासचिव विष्णु पौडेलको भैंसेपाटीस्थित निवासमा बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।