काठमाडौं– कांग्रेसीजन र बाहिरीवृत्तमा एक विषयमा समान बुझाइ थियो। संस्थापन समूहबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिन चाहे भने उनलाई अवरोध गर्न सो समूहबाट अर्का नेता अघि सर्दैनन्।
उपसभापति विमलेन्द्र निधिले सभापतिको प्रत्यासी बन्ने आकांक्षा देखाएपछि संस्थापन समूहबाट एकल उम्मेदवारी बन्ने देउवाको बाटोमा ‘ब्रेक’ लाग्ने देखिएको छ। १४औं महाधिवेशनमा संस्थापनबाट देउवामात्र सभापतिका उम्मेदवार हुन् भनी प्रचारित ‘न्यारेटिभ’ समेत परिवर्तन हुन पुगेको छ।
मुख खोले निधिले
गत मंगलबार आफू निकटका सीमित व्यक्तिलाई निधिले आफ्नो निवास बोलाएका थिए। त्यहाँ उनले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने जानकारी गराए। र, कसैगरी पछि नहट्ने प्रष्ट पारे। उनले बिहीबार नै सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो दाबी सम्बन्धमा कुरा राख्ने सुनाए। त्यसो त निधिले गत महिना नै संस्थापनइतरका केही शीर्ष नेतालाई आफू सभापतिको उम्मेदवार बन्ने संकेत दिइसकेका थिए। महामन्त्री डा शशांक कोइरालासँग त आफूलाई सभापतिमा सघाउन आग्रह नै गरेका थिए।
निर्धारित समय अनुसार निधि बिहीबार देउवा निवास बुढानिलकण्ठ पुगे। दिउँसो १ बजे देउवा निवास पुगेका निधिले सभापति देउवासँग करिब दुई घन्टा बिताए। भेटमा तेश्रो व्यक्ति राखिएको थिएन। यसपटकको भेट केही फरक सन्दर्भ र शैलीमा अघि बढ्यो।
१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने मनस्थिति बनाएको प्रसंगबाट निधिले आफ्ना कुरा अघि बढाए। प्रतिउत्तरमा देउवाले १४ औं महाधिवेशनमा पनि आफू नै उम्मेदवार बन्ने बताए। उनले १५औं महाधिवेशनमा ‘हाम्रो समूहबाट तपाईं निर्विकल्प सभापतिको उम्मेदवार’ भएको निधिलाई सुनाए।
देउवाको कुरालाई निधिले सहज रुपमा लिएनन्। प्रतिवादमिश्रित लयमा उनले १५औं महाधिवेशनसम्म अर्को पुस्ता सभापतिका लागि तयार भइसक्ने र आफूलाई उमेरले पनि साथ नदिने सुनाए। आफ्ना लागि १४औं महाधिवेशन नै सभापतिको उम्मेदवार बन्ने सबैभन्दा उपयुक्त समय रहेको उनको तर्क राखे। पार्टीलाई मजबुत बनाउन र महाधिवेशनपछि हुने निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने दायित्व रहेको सुनाउँदै युवापुस्तालाई एकत्रित गराउन सक्ने उर्जा आफूमा रहेको तर्क देउवालाई सुनाए।
सर्वसम्मत नेतृत्व चयनको पक्षमा आफू रहेको बताएका निधिले त्यस परिस्थिति निर्माण गर्न आधार तय गर्ने देउवालाई सुनाए। प्रतिउत्तरमा देउवाले सर्वसम्मतिको सम्भावना नरहेको बताए।
निधिले भेटको क्रमलाई बिट मार्दै ‘तपाईंकै समर्थनमा म उम्मेदवार बन्ने’ भन्दै संवाद रोके।
देउवा-निधि भेटको परिवेश विगतभन्दा अलि फरक रहेको निधि निकट स्रोतले जानकारी दिएको छ। केही समयअघि युवापुस्ताका नेताहरुले बाटो खाली गर्न गरेको आग्रहलाई देउवाले आक्रोशित मुद्रामा प्रतिवाद गरेका थिए। तर, बिहीबार भने निधिलाई अस्वीकार गर्न सकेनन्। उनको अनुहारको भाव नरम रहेको बताइएको छ।
राजनीतिक चरित्र देखाउने र अरुलाई कन्भिन्स गराउन सक्ने क्षमता भएको रुपमा परिचित निधिले देउवालाई कसरी आश्वस्त बनाउँछन्, त्यो तत्काल देखिने विषय होइन। तर, उनले पाइला भने सारिसकेका छन्।
देउवाका सारथी
नेपाली कांग्रेसमा ‘विमल दाई’ बाट परिचित निधि देउवाका सधैं सारथी रहे। कांग्रेसभित्र संस्थापनको विरोध नेतृत्व गरेका देउवालाई बलियो साथ दिने नेताहरुमध्ये निधि पनि एक थिए। संकटकाल लगाउने/नलगाउने विषयमा विवाद सुरु हुँदा २०५९ सालमा कांग्रेस फुटेर कांग्रेस प्रजातान्त्रिक गठन गर्दा पनि देउवालाई निधिले साथ दिए।
मधेस आन्दोलनपछि कांग्रेसमा रहेका मधेसी मूलका धेरै नेताहरु क्षेत्रीय पार्टीतिर आकर्षित भए। मधेसमा कांग्रेसका खम्बा भनेर चिनिने महन्थ ठाकुर, विजय गच्छदार, शरदसिंह भण्डारी लगायतका नेताले पार्टी छाडे, निधिले रहर गरेनन्। उनी निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ (निधि) लाई मधेस आन्दोलनपछि कांग्रेस त्याग्न धेरै दबाब थियो। प्रलोभन पनि थियो। तर, छाड्नुभएन।’
देउवा पक्षमा नेताहरु धेरै भए पनि निधिको तहका नेता अन्य थिएनन्। देउवालाई साथ दिएर अघि बढ्न प्रोत्साहित गर्ने वा विवादित काममा अघि नबढ्न सुझाव दिने निधि नै भएको उनी निकट नेता बताउँछन्।
देउवालाई निधिले कुन हदसम्म साथ दिएका थिए भन्ने बुझ्न फुटमा साथ दिएका नेताहरुको कोइराला क्याम्पमा फिर्तीले समेत जनाउँछ। शीर्ष तहका प्रकाशमान सिंहसहितका अन्य केन्द्रीय सदस्य अर्को समूहमा पुग्दा पनि निधिले देउवाको साथ छोडेनन्।
देउवाको राजनीतिक उचाइका लागि वर्षौंदेखि निधि खटिइरहेका छन्। कैयौं अवस्थामा उनले आफ्नो व्यक्तिगत लाभहानी हेरेनन्। १३औं महाधिवेशनमा देउवालाई जिताएनन् मात्रै त्यसको केही महिनापछि नै तत्कालीन एमाले-माओवादीको गठनबन्ध भत्काउन भूमिका पनि खेले। कालान्तरमा देउवा चौथोपटक प्रधानमन्त्री हुन सफल पनि भए।
प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो सरकार ढाल्न निधिले लामो प्रयत्न गरेको उनी निकट नेताहरुको भनाइ छ। उनले कृष्णबहादुर महरा र वर्षमान पुनसँग तत्कालीन सरकार ढाल्ने विषयमा कैयौं पटक संवाद गरेका थिए। २०७३ वैशाखमा गरिएको पहिलो प्रयास असफल भए पनि उनी हार खाएनन्। अन्ततः सोही वर्ष असार-साउनमा सफल भए। पुरस्कारस्वरुप निधि उपप्रधानसहित गृहमन्त्री बनाइए।
निधिको सोही प्रयत्नसँग जानकार ओलीले २०७४ को निर्वाचनमा निधिलाई हराउन भूमिका खेले। ओलीको रोजाइमा परे राजेन्द्र महतो। ओलीको सहयोगप्रति महतोले खुला रुपमै कृतज्ञता व्यक्त गरिसकेका छन्।
किन हिम्मत जुटाए निधिले?
१३औं महाधिवेशनमा देउवाले निधिसँग गरेको संवाद महत्त्वपूर्ण थियो। कोइराला परिवारबाट शक्ति हत्याउन देउवाले निधिको साथ खोजेका थिए। देउवाको तत्कालीन भनाइ स्मरण गर्दै निधिनिकट एक नेता भन्छन्, ‘कोइराला परिवारबाट पार्टीको नेतृत्व जुनसुकै तबरबाट पनि फुत्काउन पर्यो।’
निधिले त्यतिबेला कुनै अडान राखेको भए देउवाले जित्न असम्भव जस्तै थियो। तर, देउवाको बाटोमा निधिले कुनै अड्चन निकालेनन्। बरु, अर्को समूहबाट नेताहरु तान्ने काममा खटे। तत्कालीन संस्थापन समूहबाट देउवा समूहमा आएका अर्जुन नरसिंह केसी महामन्त्रीको उम्मेदवारी बने। तर, निधि भने ‘मलाई पद चाहिएन तर शेरबहादुर देउवालाई जिताउनुपर्छ’ भनिरहे।
त्यतिबेला देउवाले नै निधिलाई वचन दिएका थिए- १४औं महाधिवेशनमा हाम्रो समूहबाट तपाईं सभापतिको उम्मेदवार।
बिहीबारको भेटमा पनि निधिले देउवाले १३औं महाधिवेशन वरिपरिका यस्ता परिवेश स्मरण गराएका थिए।
निधि महामन्त्री बनिसके। उपसभापति छँदैछन्। अबको उपल्लो तह भनेकै सभापति हो। १४औं महाधिवेशनमा उनले सभापति बन्न सकेनन् भने १५औं उनका लागि अनुकुल नहुने उनले बुझेका छन्। पार्टीभित्र आक्रामक र प्रभावी बन्दै गएको युवा नेताहरुसँग १५औं महाधिवेशनमा जित्न नसकिने उनको बुझाइ अस्वाभाविक होइन। त्यसैले यो महाधिवेशनलाई कसैगरी आफू अनुकूल बनाउने उनको चाहना छ।
निधिलाई सभापतिमा उम्मेदवार बनाउने कार्यमा कांग्रेसकै बौद्धिक नेता प्रदीप गिरिसमेत लागेका छन्। जानकारहरुका अनुसार, अनुसार सभापतिमा निधिलाई अघि सारेर महामन्त्रीमा गगन थापासहितको समीकरण बनाउने प्रयत्न गिरिको छ। भनिन्छ- ‘पदीय जिम्मेवारीको लालसा नभएका गिरिले पार्टी बलियो बनाउन आवश्यक रणनीति तयार गर्छन्।’
अहिले देउवा समूहमा रहेका विश्वप्रकाश शर्माको रोजाइ पनि सभापतिको उम्मेदवारका रुपमा देउवाभन्दा निधि नै रहेको बताइन्छ। एक केन्द्रीय सदस्यका अनुसार फेरि पनि देउवाकै नेतृत्व होस् भन्ने शर्माको चाहना छैन।
नेपाली कांग्रेसको महाधिवेशनमा आन्तरिक शक्ति संरचना, सहयोग, वाचा बन्धनका अतिरिक्त दक्षिणी शक्ति पनि प्रभावी हुने गरेको पछिल्ला महाधिवेशनपछिका चर्चाले प्रष्ट पार्छ। पार्टीका अन्य आकांक्षीभन्दा निधिका लागि त्यो बढी सहयोगी हुनसक्छ। केपी ओली नेतृत्वको पहिलो सरकार ढाल्न भूमिका खेलेका नेता भएकाले उनलाई दक्षिणी सदभावयुक्त नेताको रुपमा चिनिन्छ। त्यसो त, उनी मन्त्री छँदा फास्ट ट्र्याकको जिम्मा भारतलाई दिन गरेको प्रयत्नले निकै आलोचित भएका थिए।
नेविसंघ अध्यक्षदेखि पार्टी उपसभापतिसम्म
कांग्रेसको राजनीतिमा निधि आफ्ना बाबुको विरासतले मात्रै धानिएका होइनन्। कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका पुत्र भए पनि निधि बाबुको ‘ब्याज’मा राजनीति नगरेका नेताका रुपमा चिनिन्छन्।
नेपाल विद्यार्थी संघको स्थापनाकालीन सदस्य थिए निधि। राजनीतिक दल प्रतिबन्ध रहेकै बेलामा राजनीतिमा होमिएका उनी पक्राउ समेत परे। एसएलसीको परीक्षा पनि जेलमा बसेर दिएका थिए। रामेछाप, सिन्धुली लगायतका स्थानमा जेलमा परे।
निधि कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका विश्वासपात्र विद्यार्थी नेता थिए। कोइरालाकै जोडबलमा २०३६ सालमा नेपाल विद्यार्थी संघको अध्यक्षमा उनी चुनिए। २०२८ सालमा शेरबहादुर देउवा नेविसंघको दोश्रो सभापति बनेपछि संघको महाधिवेशन २०३६ सालसम्म हुन सकेन। बिपी जनकपुरमै महाधिवेशन गराउने पक्षमा थिए। मधेशको ‘सेन्टिमेन्ट’ कांग्रेसमा आकर्षित गर्न र निधिलाई स्थापित गराउने बिपीको ध्येय देखिन्थ्यो। इलामका बेनुपराज प्रसाईंको पक्षमा अधिकांश कांग्रेसका तत्कालीन नेतृत्व देखिए पनि बिपीले निधिलाई अघि सारेपछि अन्यको केही लागेन। अध्ययन पनि गरेको र राजनीतिक पृष्ठभूमि भएको परिवार भएकाले बिपीले संघको नेतृत्व निधिलाई सुम्पिए। निधिले २३ वर्षकै उमेर संघको नेतृत्व सम्हालेका थिए।
बुबा महेन्द्रनारायण निधि नै उम्मेदवार भएकाले २०४८ मा उनले सांसदको टिकट पाउने अवस्था थिएन। निधिको संसद प्रवेश २०५१ सालमा भयो। ०५१ सालको मध्यावधि निर्वाचनमा धनुषा ४ बाट विजयी भएका निधिको २०५२ सालबाट मन्त्रिपरिषद्मा समेत स्थान बनाए। ०५३ को नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने। त्यसअघि विकास क्षेत्र अनुसार केन्द्रीय सदस्य चयन हुने विधानको व्यवस्था थियो। भीमबहादुर तामाङसँग मध्यमाञ्चलमा केन्द्रीय सदस्यमा पराजित हुँदा आठौं महाधिवेशनमा केन्द्रीय सदस्य हुन पाएनन्। तामाङ कोइराला क्याम्पबाट थिए भने निधि देउवा समूहबाट प्रतिस्पर्धी थिए।
२०५६ सालमा भने धनुषा ४ बाट पराजित बने। शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारमा २०५९ सालमा शिक्षामन्त्रीको जिम्मेवारी लिए।
२०५९ मा विभाजन भएको कांग्रेस २०६३ मा एकीकरण हुँदा महामन्त्री नै रहे। पार्टी एकीकरणका समय देउवालाई वरिष्ठ नेता दिएर अन्य पदमा रहेकाले सोही पद प्राप्त गर्ने गरी सहमति बनेको थियो। कांग्रेस प्रजातान्त्रिकमा निधि महामन्त्री थिए।
संविधानसभाको पहिलो निर्वाचनमा धनुषा ३ बाट सभासद् चुनिए। दोश्रो संविधान सभामा समेत उनी सोही स्थानमा विजयी भएर सुशील कोइरालाको मन्त्रिमण्डलमा भौतिक योजनामन्त्री बने। प्रचण्डको दोश्रो प्रधानमन्त्रित्व कालमा उपप्रधान तथा गृहमन्त्री सहितको शक्तिशाली मन्त्रालयले सम्हाले। गत निर्वाचनमा धनुषा ३ बाट निधि पराजित बने।
२०७५ बैशाखमा देउवाले उपसभापतिमा निधिलाई मनोनित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।