काठमाडौं- स्थानीय निकायका जनप्रतिनिधिहरुले नै आफ्नो क्षेत्रमा भएका संक्रमतिको विवरण प्राप्त गर्न नसकेपछि मानव अधिकार आयोग गुहारेका छन्। देशभरका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुले आफ्नो गाउँ र स्थानीय तहमा संक्रमण भएको थाहा हुने तर को, कति संक्रमित भए भन्ने जानकारी नपाएकाले सतर्कता अपनाउन र अन्य काम गर्न समस्या भएको भन्दै आयोगमा गुनासो गरेका हुन्।
स्थानीय जनप्रतिनिधिले नै काम गर्न नपाएको गुनासो गरेपछि आयोगले आइतबार देशभरका सबै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिलाई समयमै आवश्यक र यथेष्ट जानकारी गराउन निर्देशन गरेको छ। आयोगले देशमा कोभिड–१९को संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा सबै स्थानीयतहका जननिर्वाचित प्रतिनिधिहरुलाई समयमै आवश्यक जानकारी गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ।
आयोगका सचिव वेद भट्टराईद्वारा जारी एक विज्ञप्तिमा आफ्नो इलाकाभित्रका कोभिड–१९ बाट संक्रमित भएका व्यक्तिहरुको सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन भनिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय तथा स्वास्थ्य मन्त्रालयबाट प्राप्त हुन नसकेको कारण आफ्नो क्षेत्रभित्र कहाँ र के कति संख्यामा संक्रमितहरु रहेका छन् र परिवार तथा समुदायको संरक्षणको लागि के कस्तो पहल गर्नु पर्ने भन्ने जानकारी प्राप्त हुन नसकेको गुनासो कतिपय स्थानीय तहबाट प्राप्त हुन भएको आयोगको विज्ञप्तिमा उल्लेख छ।
साथै, स्वास्थ्य मन्त्रालयका प्रवक्ताले हरेक दिन संक्रमणको अवस्था सम्बन्धमा जानकारी दिँदा काठमाडौंलगायत अन्य ठूला शहरको कुन क्षेत्र र व्यवसायका व्यक्तिहरुमा संक्रमण देखियो सो समेत स्पष्ट गर्दा स्थानीयतहहरुलाई थप सजगता अपनाउन मद्दत मिल्ने आयोगको विज्ञप्तिमा उल्लेख छ। संक्रामक रोग समुदायस्तरमा फैलनबाट रोक्न, आम नागरिकको स्वास्थ्यको अधिकार र भयरहित वातावरणमा बाँच्न पाउने अधिकार संरक्षणका लागि संवेदनशील हुन आयोग सबै स्थानीय तह तथा नेपाल सरकारलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।