काठमाडौं– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले निर्वाचन आयोगका पदाधिकारीहरुको सुरक्षाको विषयमा सरकार गम्भिर रहेको भन्दै उहाँहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाईने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार ललितपुरको हात्तिबनस्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री बादलले आयोगका पदाधिकारीहरुको सुरक्षामा कुनै कसर बाँकी नराखिने बताएका हुन्।
गत आईतबार साँझ प्रमुख आयुक्त डा. यादवको निवासको पर्खालमा अज्ञात समुहले बम विष्फोट गराएको थियो ।
भेटमा गृहमन्त्री बादलले केही समुह अस्थिरता निम्ताउन उद्दत रहेको भन्दै उनिहरुलाई नियन्त्रणमा लिईने बताए। उहाँले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनिहरुलाई छिट्टै पक्राउ पर्ने पनि जानकारी गराएका थिए। गृहमन्त्री बादल सहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा. यादवको घरमा पुगेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।