काठमाडौं– विवाद कायमै रहेको जनाउँदै कांग्रेस पार्टी केन्द्रले तीन जिल्लामा क्रियाशील सदस्यता फारम नपठाएको बताइएको छ।
सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरासहित सिन्धुपाल्चोक र सोलुखुम्बुमा क्रियाशील सदस्यता फारम पठाइएको छैन। जिल्ला सभापतिहरुले पठाएको नामलाई निर्वाचन समितिले अस्वीकृत गरेको बताइएको छ।
साउन मसान्त (शनिबार)सम्म क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने गरी महाधिवेशनको कार्यतालिका बनाइएको थियो। संस्थापनइतर समूहका जिल्ला सभापतिले पठाएका नामलाई केन्द्रले अस्वीकार गर्दै विवाद रहेको जनाएको हो।
निर्वाचन समितिले तयार गरेको निर्देशिका अनुसार नै संगठन समायोजन गरी पठाएको विवादित जिल्ला सभापतिले जनाएका छन्। निर्वाचन समितिको निर्देशिकालाई कार्यान्वयन गरी नामावली पठाउँदासमेत विवाद रहेको भन्दै फारम उपलब्ध नगराइएको सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामाले जानकारी दिए।
सिन्धुपाल्चोकमा संस्थापन समूहका केन्द्रीय सदस्य मोहन बस्नेत र इतर समूहका जिल्ला सभापति लामाबीच टकराव छ। संगठन समायोजन लामाले पठाएको नाममा बस्नेतले अस्वीकार गरेपछि विवाद बढेको हो। संस्थापन र इतर समूहको विवादले गर्दा निर्वाचन समितिले संगठन समायोजन गर्न सकेको छैन।
निर्वाचन समिति संस्थापन पक्षमा लागेर संगठन समयोजनको कार्य रोकेको सिन्धुपाल्चोकका जिल्ला सभापति लामाले आरोप लगाए। उनले भने, ‘मैले पठाएको सूचीको पोको खुलेकै छैन। नामै नहेरी विवादित भनिएको छ।’ जिल्ला सभापति र केन्द्रीय प्रतिनिधि बसेर संगठन समायोजनको कार्य सके पनि निर्वाचन समितिले विवादित जिल्ला बनाएको उनले बताए। क्रियाशील सदस्यता फारम वितरण गर्न नपाएपछि काठमाडौं आएको उनले सुनाए।
सभापति देउवाको गृह जिल्लाका जिल्ला सभापति कर्णबहादुर मल्ल संस्थापनइतर समूहमा छन्। उनले जिल्लाबाट संगठन समायोजनकाे नामावली पठाए पनि क्रियाशील सदस्यता वितरण गराउन भने पाएका छैनन्। मल्लले पठाएका नाममा संस्थापन पक्षले असन्तुष्टि देखाएपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ।
तीन जिल्लामा विवाद रहेको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले स्वीकारे। डडेल्धुरा र सोलुखुम्बुको विवाद करिब टुंगिएको उनको भनाई छ। उनले भने, ‘डडेल्धुरा र सोलुखुम्बुको विवाद टुंगाउन लागिएको छ। क्रियाशील सदस्यताको फारम वितरण पार्टीले गर्ने हो। किन पठाइन थाहा भएन।’
संगठन समयोजनका लागि साउन १० सम्मको समयसीमा निर्वाचन समितिले पाएको थियो। पार्टी केन्द्र र जिल्ला कार्यसमितिबाट असहयोग हुँदा निर्धारित समयमा काम नसकिएको निर्वाचन समितिले जनाएको छ। धनुषा, महोत्तरी, सर्लाहीलगायतका जिल्लाबाट हालसम्म नाम प्राप्त नभएको घिमिरेले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।