काठमाडौं- नेपाल धितोपत्र बोर्डले चार अर्ब ४५ करोड रुपैयाँ बढीको साधारण शेयर निष्काशनका लागि पाइपलाइनमा रहेको बताएको छ।
बोर्डले बिमा, लघुवित्त र जलविद्युत र अन्य गरी हालसम्म ४ अर्ब ४५ करोड रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशनको लागि आवेदन परेको बताएको हो।
बोर्डका सहायक कार्यकारी निर्देशक रुपेश केसीले बोर्डमा प्राप्त भएका आवेदनमा अध्ययन भइराखेकाले सम्भवतः चालु आर्थिक वर्षभित्र अधिकांश कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन गर्न अनुमति पाउने बताए।
हाल करिब १ अर्ब बराबरको आइपिओ स्वीकृत भइसकेको समेत उनले जानकारी दिए। रिलायन्स लाइफ इन्स्योरेन्सको ६३ करोड रुपैयाँ बराबरको र समाज लघुवित्त वित्तीय संस्थाको ८६ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुने तयारीमा छ। त्यस्तै लिबर्टी इनर्जी कम्पनीको ३७ करोड ५० लाख रुपैयाँ बराबरको साधारण शेयर पनि निष्काशनको तयारीमा छ। लिबर्टीले भदौ ३ देखि र रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्तले भदौ चार गतेदेखि प्राथमिक सार्वजनिक निष्काशन गर्ने मिति तय गरेका छन्।
चालु आथिक वर्षमा जीवन बिमा, निर्जीवन बिमा र लघुवित्त कम्पनीहरुको सबैभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको पनि केसीले बताए। अहिले पनि केही कम्पनीहरु आइपीओ निष्काशनको प्रक्रिया बुझ्न आइराखेकोले अझ बढी आवेदन पर्न सक्ने सम्भावना रहेको उनको भनाइ छ। त्यसबाहेक केही जलविद्युत कम्पनीहरुले पनि आइपीओ निष्काशन गर्नका बुझन आएको केसीले बताए।
हाल बोर्डमा १६ वटा कम्पनीले प्राथमिक सार्वजनिक निष्काशनका लागि आवेदन दिएका छन्। जसमध्ये चार वटा कम्पनीमाथि प्रारम्भिक अध्ययनको भइरहेको छ भने ५ वटा कम्पनीको अध्ययनसँगै प्रतिबद्धताका लागि पठाएको र बाँकी सात वटा कम्पनीको अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।