काठमाडौं- सप्तरी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद् डा सूर्यनारायण यादवलाई कोरोना संक्रमण भएको छ। झाडापखालाबाट गम्भीर बनेका बिरामीको उपचारका क्रममा कोरोना भाइरस सरेको उनले बताएका छन्।
चिकित्सक पनि रहेका सांसद यादवले जनकपुरमा रहेको क्लिनिकमा आफू नियमित बिरामी जाँच गर्न जान छाडे पनि गम्भीर बिरामी आउँदा बोलाउने गरिएको बताए। ‘झाडापखालाका कारण बच्चा गम्भीर अवस्थामा थियो। पिपिईलगायतका सावधानीका उपाय अपनाउने समय भएन। बच्चालाई जोगाइयो तर हामी संक्रमित भयौं,’ उनले भने।
हातमा नशा भेटाउन नसकेकाले क्लिनिकका डाक्टरले आफूलाई घाँटीमा क्यानुला लगाइदिन बोलाएको उनले बताए। घाँटीमा क्यानुला लगाउँदा मुख नजिकै हुने भएकाले संक्रमण सहज रुपमा सरेको उनको अनुमान छ।
‘सुरुमा झाडापखाला देखिएका ती बिरामीमा पछि दमको लक्षण देखियो। हामीले धरान रिफर गर्यौं। त्यहाँ ती बच्चाको कोरोना परीक्षण गर्दा पोजिटिभ देखियो,’ उनले भने, ‘त्यसपछि उनको सम्पर्कमा पुगेका हामीले जाँच गराउँदा पोजिटिभ आयो।’
उनको रिपोर्ट बिहीबार साँझ आएको हो। कोरोना संक्रमण भएपछि सुरुका दिनमा हल्का ज्वरो देखिएको तर हाल स्वास्थ्य अवस्था ठीक रहेको उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।