काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्य केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’बीच बालुवाटारमा संवाद सुरु भएको छ।
अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न खुमलटारबाट बालुवाटार प्रवेश गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
९ दिनको संवादहीनताकाे अवस्थापछि दुई नेताबीच आज भेट हुन लागेकाे हो। यसअघि साउन १८ गतेदेखि तीन दिन लगातार ओली र प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवाचन्द्र नेम्वाङले भेटेका थिए।
गत साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सिमित पत्रकारलाई बोलाएर भेला गरेपछि दुई अध्यक्षको संवाद रोकिएको थियो।
त्यसयता ओलीले प्रचण्डसँगको संवादका लागि रुची देखाएका थिएनन्। २१ गते बेलुका ५ बजेका लागि तय भएको भेट अर्को दिनका लागि स्थगित भएकाे थियो। तर, भेट भएन। यसबीचमा कुनै माध्यमबाट संवादसमेत नभएको निकटस्थ नेताहरुको भनाइ छ। ओली र प्रचण्ड निकट नेताहरुले कोरोना महामारी बढेकाले भेटघाट पातलो भएको जवाफ दिने गरेका थिए।
बाहिर कोरोना संक्रमणलाई कारण देखाइए पनि अन्तर्यमा भने शीर्ष नेताहरु आफ्नो अडानमा टसमस नभएकैले भेटघाटको प्रयास नभएको कतिपय नेताहरु बताउछन्।
कोरोना संक्रमणले नेकपा विवादलाई ओझेल पारे पनि विवाद यथावत छ। प्रचण्ड नेपाल पक्षीय नेताहरुले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्। ओलीले भने दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा यथावत भएकाले सहमतिको बिन्दु पत्ता लाग्न सकेको छैन।
संवादमा सहजीकरण गर्न गत साउन २२ गते प्रधानमन्त्री ओलीको सन्देश लिएर स्थायी कमिटी सदस्य नेम्वाङ खुमलटार पुगेका थिए। लगत्तै साउन २४ गते महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि खुमलटार पुगे। पार्टी विवादमा दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै संवादमा बस्न उनीहरुले प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्डले ओलीले आफ्नो अडान नछाडे संवादमा बस्नुका अर्थ नभएको जवाफ फर्काएका थिए।
दुई नेताकाे आजकाे भेटलाई महत्वका साथ हेरिएको छ।
सम्बन्धित समाचार
ओली-प्रचण्डबीच किन भइरहेको छैन संवाद?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।