काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अघिल्लो हप्ता तीन दिनसम्म घनिभूत छलफल भयो। छलफलमा प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ पनि थिए। साउन १८ देखि २० गतेसम्म छलफल चले पनि कुनै निष्कर्ष निस्किएको थिएन।
साउन २१ गते अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले बिजुलीबजारको एउटा कलेजमा पत्रकारसँग भेला गरे। त्यसबाट चिढिएका ओलीले त्यसयता प्रचण्डसँगको संवादका लागि रुची देखाएका छैनन्। त्यस दिन बेलुका ५ बजेका लागि तय भएको भेट अर्को दिनका लागि स्थगित भयो। तर, भेट भएन। त्यसयता पनि भेट भएको छैन। कुनै माध्यमबाट संवाद समेत नभएको निकटस्थ नेताहरुको भनाइ छ।
ओली र प्रचण्ड निकट नेताहरुले कोरोना महामारी बढेकाले भेटघाट पातलो भएको जवाफ दिने गरेका छन्।
कोरोना महामारी बढेकाले अध्यक्ष ओली प्रचण्डबीच संवाद हुन नसकेको प्रचण्डको प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताए। अध्यक्ष प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि अतिआवश्यक भेटघाट बाहेक सबै बन्द गरिएको उनले बताए।
बाहिर कोरोना संक्रमणलाई कारण देखाइए पनि अन्तर्यमा भने शीर्ष नेताहरु आफ्नो अडानमा टसमस नभएकैले भेटघाटको प्रयास नभएको कतिपय नेताहरुको भनाइबाट थाहा हुन्छ।
कोरोना संक्रमणले नेकपा विवादलाई ओझेल पारे पनि विवाद यथावत छ। प्रचण्ड नेपाल पक्षीय नेताहरुले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एकबाट राजीनामा दिनुपर्ने अडान राखेका छन्। ओलीले भने दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्। दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा यथावत भएकाले सहमतिको बिन्दु पत्ता लाग्न सकेको छैन।
आन्तरिक छलफल जारी
संवादमा सहजीकरण गर्न गत साउन २२ गते प्रधानमन्त्री ओलीको सन्देश लिएर स्थायी कमिटी सदस्य नेम्वाङ खुमलटार पुगे। लगतै गत साउन २४ गते महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि खुमलटार पुगे। पार्टी विवादमा दुवै अध्यक्ष मिल्नुको विकल्प नभएको भन्दै संवादमा बस्न उनीहरुले प्रचण्डलाई आग्रह गरेका थिए। प्रचण्डले यस अघिकै जस्तो ओलीले आफ्नो अडान छोड्नुहुन्न भने संवादमा बस्नुका अर्थ नभएको जवाफ फर्काएका थिए।
पार्टीमा सहमति हुनेगरी स्पष्ट खाका लिएर आउन ओली पक्षीय नेताहरुलाई प्रचण्डले भन्ने गरेका छन्। त्यो सहमति हुन सक्नेगरी ओली पक्षीय नेताहरुले खाका ल्याउन नसकेकाले संवाद हुन नसकेको नेताहरुको भनाइ छ।
शनिबारपछि भने ओली पक्षका नेताहरुले प्रचण्डलाई भेटेका छैनन्। तर प्रचण्ड भने आफ्ना पक्षका नेताहरुसँग भने गत आइतबार बसेका थिए। ओलीले आफ्नो अडान नछाडेपछि आगामी रणनीति अख्तियार गर्न उनीहरु संवादमा बसेका थिए। आन्तरिक रुपमा आफ्नो पक्षका नेताहरुसँग प्रचण्ड औपचारिक तथा अनौपचारिक रुपमा बस्ने गरेका छन्।
उता ओली पक्षीय प्रायः नेताहरु दिनको एकपटक बालुवाटार पुग्ने गरेको प्रधानमन्त्री निकट एक नेताले बताए। महासचिव पौडेलका निजी सुरक्षाकर्मीलाई कोरोना पुष्टि उनी भने पछिल्ला दिनमा बालुवाटार गएका छैनन्। तर, रक्षामन्त्री ईश्वर पोखरेल, मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्रीसँग नियमित संवादमा छन् र कतिपय भने नियमितजसो बालुवाटार जाने गरेका छन्।
पार्टीमा विवाद उत्कर्षमा पुगेयता अतिआवश्यक काम बाहेक प्रायः मुख्यमन्त्री पोखरेल र गुरुङ काठमाडौंमा नै बस्ने गरेका छन्। अध्यक्षद्वयबीच नभए पनि दुवै पक्षको आन्तरिक छलफल भने जारी रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले बताए। ‘दुवै पक्षले आफ्नो अडान छोड्नुभएको छैन। सहमति नभई ओली र प्रचण्ड मात्रै संवाद गर्नुको अर्थ छैन’, गजुरेलले भने, ‘दुवै पक्षको आन्तरिक छलफल चलिरहेको छ। एउटा निष्कर्षमा पुगेपछि ओली प्रचण्ड भेट्नुहुन्छ होला।’
आत्मसमर्पण वा संघर्ष?
अध्यक्ष प्रचण्ड-नेपाल समूहले पार्टी विवादका विषयमा आत्मसमर्पण वा संघर्षमध्ये एक रोज्नुपर्ने अवस्थामा आइपुगेको निष्कर्ष निकालेका छन्। पार्टीमा विवाद भए लगतै प्रचण्ड र नेपाल समूहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए। उनी आफ्नो अडानबाट पछाडि हट्न नमानेपछि सो समूह त्यस्तो निष्कर्षमा पुगेको हो।
पार्टी र सरकार दुवै विधि र पद्धतिमा नचलेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने एजेण्डा स्वाभाविकै भएको स्थायी कमिटी सदस्य मातृका यादवले बताए। ‘सरकार र पार्टी विधि पद्धतिमा नचलेको यथार्थ हो। प्रधानमन्त्रीले सरकार हाँक्न नसकेपछि राजीनामा दिनुपर्ने हो’, यादवले भने, ‘तर अब कि आत्मसमर्पण गर्नुपर्यो, नभए सघर्ष गर्नुपर्यो।‘
प्रधानमन्त्री ओली विचार र आस्थामा अध्यात्मवादी, राजनीतिक कार्यदिशा पुँजीवादी र नेतृत्वमा सर्वसत्तावादी भएकाले विकल्प खोज्नुपर्ने अवस्था आएको यादवले बताए। आफू एकता विरोधी नभएको बताउँदै यादवले केपी ओली जस्ता कम्युनिस्टसँग सदावहार विपक्षमा भएको बताए।
प्रधानमन्त्री ओली निकट केन्द्रीय सदस्य कर्ण थापाले ओली र प्रचण्डले मिलेर निकास दिनुको विकल्प नभएको बताए। ‘उहाँहरु (प्रचण्ड-नेपाल पक्ष)ले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुहुन्थ्यो’, थापाले भने, ‘पछिल्लो समय उहाँहरु नै हामीले आधिकारिक रुपमा प्रधानमन्त्रीको राजीनामा मागेको छैनौं भन्न थाल्नु भएको छ।’
पार्टी विवादमा अध्यक्ष ओली र प्रचण्डले नै सहमति गरेर निकास दिनेमा आफू विश्वस्त रहेको थापाले बताए।
पाँच दिनमा केही होला?
बुधबार राति एपीवान टेलिभिजनमा प्रशारित ‘द ब्राभो डेल्टा सो’ मा कुराकानीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच दिनमै सिनेरियो परिवर्तन हुने बताएका छन्। ‘हप्ता दश दिन होइन, हप्ता भन्दा यतै पाँच दिनमा फेरि मसँग प्रश्न गर्नुस्, के हुन्छ सिनेरियो। भोलिबाट एक भनेर काउन्टडाउन सुरु गर्नुहोला’, उनको भनाइ थियो।
पार्टीभित्रको विवाद मिल्ने भन्दा पनि संवादहीनताको अवस्था सिर्जना भएको अवस्थामा प्रधानमन्त्रीको प्रतिक्रियाले सामाजिक सञ्जालमा प्रशस्तै चर्चा पाएको छ।
त्यसो त, अध्यक्षद्वयबीच आज छलफल हुनसक्ने एक पूर्वमाओवादी नेताले बताए। उनका अनुसार, समय तय भइनसके पनि भेटघाट भने हुनसक्ने सम्भावना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।