बुटवल- बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबारदेखि भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै उपमहानगरले लकडाउनको निर्णय गरेको मेयर शिवराज सुवेदीले बताए।
लकडाउनको निर्णय साउन २९ गते बिहीबार राती ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लागू हुनेछ। बुटवल उपमहानगरको कार्यपालिकाको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख सुवेदीले बताए।
बुटवल भित्रका खाद्यान्न पसलहरू बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै खुल्न पाउने छन्। दुध डेरीहरू बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।
सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।
बुटवलका अधिकांश वडाहरुमा समुदायस्तरमै कोरोना भाइरसको संक्रमण फैलिइसकेको अवस्था भएकाले यो अघिल्लोपटक संघ सरकारले गरेजस्तै कडा हुने लकडाउन हुने बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
बजार क्षेत्रमा समुदायमै संक्रमण फैलिइसकेको छ यसैले सर्तक हुँदै लकडाउन पालना गर्नका लागि अनुरोध गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।