काभ्रे– काभ्रेको नमोबुद्ध नगरपालिका– ५ मा सम्पन्न निशुल्क आँखा शिविरमा एक सय २२ जनाले सेवा लिएका छन्।
प्याक्स अर्थ्, तिलगंगा आँखा प्रतिष्ठान तथा नमोबुद्ध नगरपालिका वडा नं ५ कार्यालयको आयोजनामा कानपुर उच्च माविमा बैशाख ५ गते एक दिने आँखा शिविर आयोजना गरिएको हो।
शिविरमा ३ वर्षकी बालिकादेखि एक सय वर्षको बृद्धासम्म गरी १ सय २२ जनाको आँखाको निःशुल्क परिक्षण र उपचार गरिएको छ।
जसमध्ये १३ जनाको आँखामा मोतिबिन्दु भेटिएको प्याक्स अर्थका अध्यक्ष सुजन कोइरालाले जानकारी दिए। तिलगंगा आँखा प्रतिष्ठानका आँखा प्राविधिक सरोज देवकोटा नेतृत्वको टोलीले बिरामीको आँखा परिक्षण गरेको थियो। नमोबुद्ध नगरपालिकाको वडा नं ५ का स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको आँखा शिविरमा नमोबुद्ध नगरपालिकाको अन्य वडालगायत तेमाल गाउँपालिका, धुलिखेल नगरपालिका र बनेपा नगरपालिकाबाट पनि सर्वसाधरणहरु आँखा परिक्षण गराउन आएका थिए।
शिविरबाट छानिएका मोतिबिन्दुका १३ मध्ये १२ बिरामीको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको टोलीद्वारा काठमाडौंमा निःशुल्क शल्यक्रिया गरिएको शिविर संयोजक मनोहर सापकोटाले जानकारी दिए । शल्यक्रिया गर्नेमा ४७ वर्षदेखि ८७ वर्षसम्मका मोतिबिन्दुका बिरामी रहेका थिए। मोतिबिन्दु भएका बिरामीलाई शिविरबाट काठमाडौं लाने र शल्यक्रियापश्चात गाउँमा पुर्याई परिवारका सदस्यलाई जिम्मा लगाउने काम समेत प्याक्स अर्थले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।