काठमाडौँ- नेपाल विद्यार्थी संघले केन्द्रीय समितिको बैठकबिना नेतृत्वले आमन्त्रित केन्द्रीय सदस्य र विभिन्न क्याम्पसमा जिम्मेवारी दिएको भन्दै उक्त निर्णय खारेज गर्न माग गरेको छ।
नेविसंघले पत्रकार सम्मेलन गरी विधानविपरीत विश्व विद्यालय समिति, जिल्ला समिति, क्याम्पस एकाइ समिति, विदेशस्थित सम्पर्क समिति गठन गरेको भन्दै निर्णय खारेज गर्न माग गरेको हो।
पत्रकार सम्मेलनमा नेविसंघका नेता मनोजमणि आचार्यले नेविसंघजस्तो ऐतिहासिक संगठनलाई तानाशाही शैलीमा अगाडि बढाएको भन्दै उक्त कदम आफूलाई मान्य नहुने बताए। ‘बलियो कांग्रेस निर्माणका लागि सशक्त नेविसंघ’ बनाउनुपर्ने भन्दै उक्त कार्य वर्तमान नेतृत्वबाट हुन नसकेको उनले उल्लेख गरे।
नेविसंघ उपाध्यक्ष उर्मिला थपलियाले महाधिवेशन सुनिश्चितताका लागि तत्काल विधान सम्मेलन राखी मिति तोक्नुपर्ने बताइन्। 'महाधिवेशन हुन चार महिना बाँकी रहँदा अध्यक्षको यो कार्यशैलीले निर्वाचन हुन सक्दैन,' उनको भनाइ थियो।
नेविसंघका नेता दीपक भट्टराई महाधिवेशनको सुनिश्चितताका लागि विधान विपरीत गरिएका सबै नियुक्ति खारेज हुनुपर्ने बताए। 'चिठी लेखेर गरिएका नियुक्तिले नेविसंघ द्वन्द्वमा फसेको छ,' उनले भने।
नेविसंघको ११ औँ महाधिवेशन भएको तीन महिनाभित्र विवादित जिल्लाको विवाद समाधान गर्ने भनिए पनि २० महिना पुग्दासम्म नभएको उपाध्यक्ष नवीन राईले बताए।
अध्यक्ष नैनसिंह महरले संगठन विधान विपरीत सञ्चालन गरेको भन्दै उपाध्यक्ष नवीन राई, उर्मिला थपलिया, खड्गबहादुर डाँगी, प्रकाश राना र सागर परियारले असन्तुष्टी जनाउँदै सोमबार कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।