काठमाडौं- काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड-१९ को परीक्षण सुरु भएको छ। काठमाडौं महानगरपालिकाले पिसिआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड-१९ परीक्षण सुरु भएको हो।
अस्पतालको ६१औं वार्षिकोत्सवको अवसरमा मंगलबार पिसिआर प्रयोगशालाको औपचारिक उ्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पिसिआर प्रयोगशालाको उद्घाटन गरेका हुन्।
महानगरपालिकाले पिसिआर मेसिन उपलब्ध गराएपछि अस्पतालले ल्याब निर्माण गरेको हो। महानगरले परीक्षण मेसिनसहित भिटिएम १ हजार ५ सय थान, आरडिटी १ हजार ५ सय थान र पिपिई ५ सय थान उपलब्ध गराएको छ।
अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पिसिआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताइन्। संक्रमणको महामारीको अवस्थामा अस्पतालभित्रै पिसिआर परीक्षण प्रयोगशाला स्थापना हुँदा बिरामीको उपचारमा थप सहयोग पुग्ने बताइन्।
अस्पतालले कोभिड १९ संक्रमणको आशंका लागेका बिरामीलाई कुपण्डोलस्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पिसिआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।