काठमाडौं- कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १ सय ६६ जना संक्रमित होम आइसोलेसनमा बसेका छन्।
तीन वटा प्रदेशमा गरी १ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश ५ मा सबैभन्दा धेरै संक्रमित होम आइसोलेसनमा छन्। त्यहाँ मात्र १ सय ४५ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।
प्रदेश १ मा १५ र कर्णाली प्रदेशमा ६ जना होम आइसोलेसनमा छन्। प्रदेश २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि संक्रमित होम आइसोलेसनमा छैनन्।
आइसोलेसनमा रहने संक्रमितको संख्या बढिरहँदा सरकारले त्यही अनुसार अस्पतालहरुको क्षमता बढाउन सकेको छैन। सीमित क्षमताकै कारण सरकारले होम आइसोलेसनको अवधारणा ल्याएको हो।
स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ केसको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिकाले होम आइसोलेसन सम्बन्धी विभिन्न विषयहरु उल्लेख गरिएका छन्।
लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई घरमै राखी व्यवस्थापन गर्न सकिने निर्देशिकामा उल्लेख छ। तर शय्या अभावका कारण लक्षण भएका संक्रमितहरु पनि होम आइसोलेसनमै बस्न बाध्य भएका छन्।
सरकारले होम आइसोलेसनको नीति ल्याए पनि विज्ञहरुले भने यसलाई व्यावहारिक नभएको बताउँदै आएका छन्। विदेशी मुलुकमा यो सान्दर्भिक भए पनि नेपाली परिवेशमा भने होम आइसोलेसन उपयुक्त विकल्प नभएको उनीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।