काठमाडौं– नेपाली कांग्रेसले वर्तमान सरकारले कोरोना रोकथाम र नियन्त्रण गर्न नसक्ने जनाउँदै नागरिक आफैंले सुरक्षा विधि अपनाउन सुझाव दिएको छ।
कोभिड १९ को अनुगमन गर्न गठित समितिले वर्तमान सरकारसँग आशावादी हुने अवस्था नरहेको जनाएको छ। स्वास्थ्य मन्त्रालयमा रहेको नेतृत्वले कोभिड १९ को नियन्त्रण गर्न नसक्ने समितिका संयोजक डा प्रकाशशरण महतले ठोकुवा गरे।
स्वास्थ्य मन्त्रालयको असफल नेतृत्वको स्थानमा सशक्त टिम बनाउन सरकारलाई उनले सुझाव दिए। सरकारले स्वास्थ्य मन्त्रालयमा कोरोना नियन्त्रण गर्ने नेतृत्व ल्याउन सक्ने प्रति पनि उनले आशंका गरे। नेता महतले पत्रकार सम्मेलन गरी भने, ‘प्रतिपक्ष दलको जवाफदेही बनाउने कार्य हो। सरकारले गर्ला भन्ने आशा त छैन। तथापि भन्नु त पर्यो।’
पूर्ण लकडाउन नेपालले धान्न नसक्ने महतले बताए। अर्थतन्त्रमा नकरात्मक असर गर्ने भएकाले पूर्ण लकडाउन नेपालले धान्न नसक्ने उनकाे तर्क छ। लकडाउन मात्रै विकल्प नहुने उल्लेख गर्दै संक्रमण देखिएका सघन क्षेत्रमा लकडाउन गर्न र परीक्षण बढाउन उनले सुझाव दिए। लकडाउनपछि काेराेना समुदायमा फैलिन सुरु गरेको छ। संक्रमण बढेका स्थानमा परीक्षण दर नबढाएको नेता महतको आरोप छ।
सरकार बिचौलियको कठपुतली भएको उनले आरोप लगाए। जनताको पीरमर्का प्रति चिन्ता नभएको सरकार धेरै नचल्ने उनको दाबी छ। उपचार अभावमा नागरिकको मृत्यु हुनु सरकारको गैर जिम्मेवारपन भएकाे उनले बताए। निजी अस्पतालको सहभागिता विना कोभिडसँग जुध्न असम्भव रहेकाले सहकार्य गर्न सरकारलाई उनकाे सुझाव छ।
संक्रमण समुदायमा फैलिइसकेको उल्लेख गर्दै महतले स्थिति भयावह हुनसक्ने आंकलन गरे। आइसोलेसन र भेन्टिलेटरको संख्या बढाउन सरकारसँग उनले माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।