काठमाडौं- काठमाडौं उपत्यकामा गरिएको एक अध्ययनले कोरोना भाइरसबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्यको मापदण्ड अनुसारको सामाजिक दूरीको नियम ६९ प्रतिशत स्थानमा लागू नभएको देखाएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनले संस्थागत तहमा जस्तैः तरकारी बजार, मल, बैंक, मालपोत कार्यालय, मठमन्दिर र होटलहरुमा गरेको अध्ययनले ३१ दशमलव २५ प्रतिशत स्थानमा मात्र सामाजिक दूरीको नियम पालना भएको देखाएको हो। 'अध्ययनका क्रममा कम स्थलमा मात्र सामाजिक दूरीको (२ मिटर) लागि मार्किङ गरिएको थियो,' अध्ययन प्रतिवेदनमा भनिएको छ, 'मार्किङ कायम गरेता पनि ३१ दशमलव २५ प्रतिशत स्थानमा मात्र सामाजिक दूरीको नियम पालना गरिएको पाइएको थियो।'
त्यसैगरी, साबुन पानी र स्यानिटाइजरको व्यवस्था भने लगभग ६० प्रतिशत स्थलहरुमा मात्रै उपलब्ध थियो।
निजी र सरकारी अस्पतालमा अवलोकन गर्दा सामाजिक दूरीको लागि ओपिडी, फार्मेसी, टिकट काउन्टर अगाडि मार्किङ कायम गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ। तर, अस्पतालको चमेना गृहमा भने सामाजिक दूरीको (२ मिटर) मार्किङ कायम गरिएको थिएन। २० प्रतिशत अस्पतालमा मात्र सामाजिक दूरीको नियम पालना भएको पाइएको थियो।
३० वटा सार्वजनिक यातायातमा अवलोकन गर्दा ५० प्रतिशतभन्दा कम यातायातमा मात्र एउटा सिटमा १ जनामात्र बस्ने व्यवस्था मिलाएको र एक सिट छोडेर अर्को सिटमा मात्र यात्रु बस्ने नियम पालना भएको थियो र स्यानिटाइजरको व्यवस्था थियो।
जनस्वास्थ्य मापदण्ड एसमएमएस (भौतिक दूरी, मास्क र स्यानिटाइजर र साबुनको प्रयोग)का विषयमा परिषद्ले गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो। परिषद्ले स्वास्थ्य मन्त्रालयको साउन ७ गतेको निर्णयअनुसार अनुसन्धान अगाडि बढाएको हो।
परिषद्ले अनुसन्धान टोली गठन गरी साउन ९ गतेबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। अनुसन्धानका लागि परिषद्बाट ६ जनाको विज्ञ समूह गठन भएको थियो। तथ्यांक संकलनका लागि ३९ जना परिचालन भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।