काठमाडौं-कोरोना भाइरस संक्रमणको जोखिमका बेलामा समेत ठूला सुपरमार्केटले उपभोक्ता ठग्ने क्रम बढ्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा आधुनिक उपकरण जडान गरिएका भाटभटेनीलगायतका सुपरमार्केटबाटै उपभोक्ता निरन्तर ठगिइरहेको पाइएको हो। विभागले प्रत्येक दिन गरेको अनुगमनको विवरण वेबसाइटमार्फत् सार्वजनिक गर्दै आएको छ।
गत चैत ११ मा लकडाउन लागू गरिएयता भाटभटेनीका दुई शाखालाई कारबाही गरिएकाे विभागले जनाएको छ। उपभोक्ता ठग्ने र गुणस्तरहीन सामान बेच्ने भाटभटेनीको नक्साल र अनामनगर शाखा कारबाहीमा परेका हुन्।
भाटभटेनीले उपभोक्ताबाट नयाँ तरिकाबाट बढी पैसा असुल्ने गरेको छ। सहुलियत दरमा सामान बिक्री गर्ने गरेको दाबी गरे पनि उपभोक्ताबाट पैसा लिई फिर्ता गर्ने बेलामा भीडभाडको मौका छोपी कम दिएर ठग्ने नयाँ शैली उपयोग गरेको बानेश्वरका पीडित उपभोक्ता राजेन्द्र कार्कीले बताए। अनामनगर शाखाले सामान किनेपछि पैसा फिर्ता गर्दा भीडभाडको मौका छोपी ९० रुपैयाँ कम फिर्ता दिएको उनले जानकारी दिए।
भाटभटेनी सुपरमार्केटबाट सामान लिई बिल तिरेर फर्कने बेलामा काउन्टरमा भीड भएको मौका छोपी दिनुपर्ने भन्दा कम पैसा फिर्ता गरिएको उनले सुनाए। कोरोनाका कारण भीडभाडमा नबसौँ भनी भाटभटेनीमा माइकिङ भइरहेको हुन्छ। पैसा फिर्ता लिई फर्केर बाहिर आई हेर्दा कम भेटिने गरेको पीडित उपभोक्ताको गुनासो छ। सिसीटिभी क्यामेरासमेत जडान गरिएको भनिएको भाटभटेनीमा यस विषयमा गुनासो गर्दा पनि सुनुवाइ नहुने गरेको उपभोक्ताको गुनासो छ।
भाटभटेनीको अनामनगर शाखाका व्यवस्थापक अजय लामा उपभोक्तालाई दिनुपर्नेभन्दा कम पैसा दिइएको उजुरीका आधारमा सिसीटिभीको फुटेज परीक्षण गर्दा कमजोरी भएको भेटिएको स्वीकार गर्छन्। कम पैसा फिर्ता दिने कर्मचारीलाई आइन्दा गल्ती दोहोर्याए कारबाही गर्ने चेतावनी दिइएको पनि उनले सुनाए।


ठूलो सुपरमार्केट भएर पनि भाटभटेनीमा गुणस्तरीय सामान नपाइएको चुच्चेपाटीकी डोल्मा शेर्पाले गुनासो गरिन्। भाटभटेनीबाट ल्याएको तरकारी भित्रभित्र कुहिएको हुने गरेको उनको भनाइ छ। भाटभटेनी आफैँले प्याकिङ गरेको दालको पोकाभित्र प्रसस्त ढुङ्गा भेटिने गरेको पनि उपभोक्ताको गुनासो छ। यस्ता सुपरमार्केटलाई पारदर्शीरुपमा गुणस्तरीय सामान बिक्री गराउन निरन्तर बजार अनुगमन गरिनुपर्ने माग पनि उपभोक्ताले गरेका छन् ।
उपभोक्ता मञ्चका केन्द्रीय सदस्य रोशन पोखरेल ठूला सुपरमार्केटमा बजार अनुगमन औपचारिकतामा मात्र सीमित हुने गरेको बताउछन्। यस्ता सुपरमार्केटमा जोडिएका राजनीतिक व्यक्तित्वका कारण पनि विभाग अनुगमनका लागि हच्कने गरेको उनको आरोप छ। लाखौँ उपभोक्ता पुग्ने र सबै खाले सामान राखिएका यस्ता बजारको नियमित अनुगमन गर्ने गरी जनशक्ति व्यवस्थापन हुन नसकेको उपभोक्ता हितमा कार्यरत संस्थाको भनाइ छ ।
गत चैत ११ गतेदेखि लकडाउन सुरु भएलगत्तै भाटभटेनीको मुख्य सुपरमार्केट नक्सालमा विभागले गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गरेको भेटिएको जनाउँदै कारबाही गरेको थियो। केही समय अघि भाटभटेनीको अनामनगर शाखा पनि मिति नाघेको सामान भेटिएको भनी कारबाहीमा परेको विभागका प्रवक्ता रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।
‘अनुगमनका क्रममा गल्ती भेटिएपछि भाटभटेनीका अधिकारी भूल भयो, छुट भयो, झुक्कियो, बिर्सियो भन्नेजस्ता जवाफ दिएर उम्कने गरेका छन्, यसो भन्दैमा गरेको गल्तीबाट बचाउन सकिँदैन, कर्मचारीलाई दोष दिएर सुपरमार्केटका अधिकारीले कारबाहीबाट उम्कन खोज्छन्’, उनले भने।
यस सम्बन्धमा प्रतिक्रियाका लागि भाटभटेनीको मुख्य शाखा नक्सालका अधिकारीसँग प्रतिक्रियाका सम्पर्क गर्दा एकापसमा पन्छिए । भाटभटेनीका उपत्यकाका अनामनगर, नक्साल, महाराजगञ्ज, त्रिपुरेश्वर, पाटन, सातदोबाटो, कोटेश्वर, भक्तपुर, बौद्ध र कलङ्कीमा गरी १० स्थानमा शाखा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।