काठमाडौँ- कोभिड १९ क्राईसिस म्यानेजमेन्ट कमिटी(सिसिएमसी)को आइतबार बसेको बैठक बिना निष्कर्ष सकिएको छ। कोरोना संक्रमणका विषयमा समीक्षा गरिएको बैठकमा सरोकारवाला मन्त्रालयले विभिन्न प्रस्ताव पेस गरेका थिए तर ठोस निर्णय भने नभएकाले सिसिएमसीमा आएका प्रस्ताव मन्त्रिपरिषद् लैजाने तयारी गरिएको छ।
भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन, आन्तरिक र बाह्य उडान हवाई उड्यन सेवा सञ्चालन गर्ने निर्णयलाई यथावत राख्ने वा नराख्ने विषयमा समीक्षा भएको सिसिएमसीका सदस्य-सचिव समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले बताए।
‘हामीले आज कुनै निर्णय गरेका छैनौँ। यसअघिका मन्त्रिपरिषदका निर्णय यथावत छन्,’ गुरागाईले भने, ‘सिसिएमसीमा भएका छलफलका विषयमा प्रस्ताव तयार भई मन्त्रिपरिषदमा लगिने छ। त्यहाँपनि कोरोनाका विषयमा समीक्षा हुन्छ। आवश्यकताका आधारमा त्यहाँ निर्णय हुन्छ।’
कोरोना संक्रमितको संख्या बढ्नुका साथै मृत्यु हुनेको संख्या बढ्दै गएकाले स्वास्थ्य प्रोटकल कडाईंका साथ पालना गर्न निर्देशन दिएको छ।
अत्यावश्यक काम बाहेक घर बाहिर नस्किन आम सर्वसाधरणलाई अनुरोध गरेको छ। कोरोना संक्रमणले विशेषगरी वृद्धवृद्धा, बालवालिकालाई सबैभन्दा धेरै प्रभावित गर्ने भएकाले सकेसम्म घर बाहिर नजान अनुरोध गरिएको छ।
स्वास्थ्य प्रोटोकलका मास्क, स्यानिटाइजर सामाजिक दुरी कायम गर्ने कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।