काठमाडौं- जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको बताएको छ। पार्टीको साउन २१ देखि २४ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निष्कर्ष निकालेको हो।
‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड-१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ’, पार्टीद्वारा जारी बैठकको निर्णय उल्लेखित प्रेस विज्ञप्तिमा भनिएको छ।
जसपाकले अहिलेको संविधान अधुरो, अपूर्ण र त्रुटिपूर्ण मात्र नभई विभेदकारी पनि रहेको बताएको छ। ‘पहिलो संविधानसभामा भइसकेका सहमतिहरु, राज्य पुनः संरचना सुझाव उच्चस्तरीय आयोगको प्रतिवेदन-२०६८ का आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षा, सामाजिक न्याय, सुशासन, आर्थिक न्याय, नागरिकता आदि प्रावधानहरुमा रहेका त्रुटिहरुलाई संविधान संशोधन गरी सच्याउनुपर्छ’, निर्णयमा भनिएको छ।
पार्टीले माडी नगरपालिका-९ कुसुमखोलास्थित चेपाङका घर हात्ती लगाएर भत्काउने र आगो लगाउने कार्य अत्यन्त अमानवीय र निन्दनीय कार्य भएको बताएको छ। दोषीलाई तत्काल कारबाही गर्नुपर्ने उसको माग छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।