काठमाडौं–नेपाली कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्धसम्बन्धी दिएको अभिव्यक्ति आपत्ति जनाएको छ। जयशंकरको टिप्पणी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमा दिएको अभिव्यक्तिविपरीत भएको कांग्रेसको भनाइ छ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले शनिबार गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा बोल्दै जयशंकारले गौतम बुद्ध विश्वले स्मरण गर्ने महान भारतीय भएको दाबी गरेका थिए।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री जयशंकरलाई विगत स्मरण गराउँदै भनेका छन्, ‘हाम्रो (नेपालको) संसदमा ‘नेपाल बुद्धभूमि हो’ भन्ने मोदीबोली खारेज भएको हो?’ बुद्ध नेपालमा जन्मिएको तथ्यलाई विश्वका अन्य मुलुकबाट नेपालले दर्ता प्रमाण नमागेको पनि उनले प्रष्टाए।
पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आएको शर्माले बताए। जयशंकरको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै शर्माले ट्वीटमा लेखेका छन्, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन।’
पछिल्लो समय आवेगको जवाफमा आवेगमा आउने गरेको जनाउँदै उनले उक्त प्रवृति दुवै देशको हितमा नभएको उल्लेख गरे। राम र बुद्ध जन्मभूमिको सन्दर्भमा आपसी संवेदनशीलताको हेक्का नराखेर टिप्पणी राखिएको उनले बताए। दुई देशको संवेदशीलतालाई ख्याल नगरि भएका टिप्पणीले गहिरो चोट छोड्ने उल्लेख गर्दै उनले यस्तो प्रवृत्तिले मुल विषय छायामा पर्ने बताए। आवेगको विरोधमा आवेग प्रदर्शन गर्दा मुल विषय मोडिएर दुई देशको दीर्घकालीन हित नगर्ने उनले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।