काठमाडौं- नेपालमा हालसम्म ७३ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७३ जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।
थप ३ जना संक्रमितको मृत्यु भएको पुष्टि शनिबार मन्त्रालयले गरेको हो।
साउन २३ गते वीरगञ्जको गण्डक अस्पताल भर्ना भएका पर्साका ७४ वर्षीय संक्रमित पुरुषको २३ गते मृत्यु भएको पुष्टि मन्त्रालयले गरेको छ। उनी दम र मधुमेहका रोगी थिए।
यस्तै विराटनगरका ५८ वर्षीय पुरुषको पनि साउन २३ नै मृत्यु भएको छ। उनी उच्च रक्तचापका बिरामी थिए। उनको कोशी अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको हो।
यसैगरी काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको छ । उनी पाटन अस्पतालमा उपचाररत थिए । उनको साउन २३ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म २२ हजार ५९२ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप ४९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १६ हजार ३१३ उपचारपछि निको भएका छन्।
हाल ६ हजार २ सय ६ जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार ७ सय ९२ जना क्वारेन्टाइनमा छन्। शनिबार ७ हजार ८ सय ८८ जनाको पिसिआर परीक्षण भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।