काठमाडौं- नेकपा शीर्ष नेताहरूले कोरोना संक्रमण बढेसँगै अत्यावश्यक भेटघाटबाहेकका भेटघाट बन्द गरेका छन्। काठमाडौं उपत्यकासहित तराईका जिल्लाहरूमा कोरोनाकाे संक्रमण बढ्न थालेपछि शीर्ष नेता गुट भेलासमेत स्थगित गरी निवासमै बस्न थालेका हुन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोरोना संक्रमण बढेपछि नेता कार्यकर्तासँगको भेटघाट कम गर्दै लगेका छन्। ‘कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री ज्यूले जरुरी भेटघाटबाहेक सबै बन्द गर्नु भएको छ। भेट्नै पर्ने व्यक्तिलाई उच्च सुरक्षा सतर्कता अपनाएर भेटघाट गर्नुभएको छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्याे।
कोरोना संक्रमण बढ्न थालेपछि ओलीले आफ्ना गुटका नेतालाई बोलाएर भेलासमेत नगरेको एक नेताले बताए।
अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बाहिर सुरक्षामा खटिने सशस्त्र प्रहरी र नेपाल प्रहरीका ६ जनालाई बिहीबार कोरोना संक्रमण भएको पुष्टी भएपछि भेटघाट एकदमै कम भएकाे छ। बिहीबार आएको पिसिआर टेष्टको नतिजामा प्रचण्ड परिवारसहित सचिवालयका कर्मचारीसमेत सुरक्षित रहेको सचिवालयले जनाएको छ।
बुधबार प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठकाे भेला भएकाे थियाे। त्यसयता कुनै भेला गरेका छैनन्। कोरोना संक्रमणलाई देखाएर आफू निकट नेताहरूलाई समेत बोलाएर प्रचण्ड-नेपाल पक्षले छलफल गरेका छैनन्।
बिहीबार ओलीको सन्देश लिएर स्थायी कमिटी सदस्य सुवास नेम्वाङ खुमलटार पुगेपछि प्रचण्डले भेट गरेका थिए। त्यसयता छलफल र भेटघाट नभएको प्रचण्डको सचिवालयले जनाएको छ।
यस्तै वरिष्ठ नेता खनाल र नेपालले पनि भेटघाट कम गरेका छन्। ‘कोरोना संक्रमण धेरै बढ्न थाल्यो जेएन कमरेड तीन दिनदेखि कतै भेटघाट र छलफलमा जानु भएको छैन। घरमा अत्यावश्यक भेटघाटबाहेक सबै बन्द गरेका छौ,’ खनालको सहयोगीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।