नेपालगन्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको त्रिवेणीमोड स्थित सोनु राई ज्वेलर्सबाट ठूलो परिमाणमा ‘अवैध’ सुनचाँदीका गहना बरामद गरेको छ।
बाँके प्रहरीले ४ सय ग्राम सुन र २१ किलो ७ सय ग्राम चाँदीका विभिन्न गरगहना सहित पसलका सञ्चालक सोनु राईलाई नियन्त्ररणमा लिई छानबिन छानबिन सुरु गरेको छ।
कुनै पनि सरकारी निकायमा दर्ता नगरी पसल सञ्चालन गरेको र पसलका सञ्चालकले सुनचाँदी खरिद गरेको बिल समेत देखाउन नसकेकाले नियन्त्रणमा लिई छानबिन सुरु गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए।
नियन्त्रणमा लिएका गहनासहित पसलका सञ्चालकलाई थप कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक तामाङले बताए।
पछिल्ला समयमा अवैधरुपमा सुनचाँदी भित्र्याएर गहना बनाई बिक्री वितरण गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारी उक्त गहनासहित राईलाई नियन्त्रणमा लिएको हो।
बाँके जिल्लामा १ सय ५० वटा सुनचादीका पसल छन्। ती पसलबाट दैनिक १ हजार ५ सय ग्रामसम्म सुनको कारोबार हुँदै आए पनि नेपालगन्जमा सातामा ४ किलो मात्र सुुन वैध बाटोबाट आउने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।