काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पूर्व र वर्तमान पदाधिकारी बैठकले सहमति विना सकिएको हो।
बैठकमा कोभिड १९ देखि सरकारका गतिविधीसम्म छलफल भएको थियो। बैठक मुख्यतः पार्टीभित्रको विवादमै केन्द्रित भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। प्रमुख रुपमा विवादित विषय बनेको विभाग गठनप्रति संस्थापनइतर पक्षले विरोध जनाएको थियो। ‘चार वर्षको कार्यकाल सिद्धिसकेको अवस्थामा विभागहरुमा नियुक्ति भएको छ। त्यसलाई रोक्नुपर्छ भन्यौं,’ नेता केसीले भने, ‘महाधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाउनका लागि क्रियाशील सदस्यता वितरणमा कुनै प्रकारको धाँधली नहोस्। विधि विधान अनुरुप होस् भन्ने कुरा हामीले राख्यौं।’
संस्थापन इतरका नेताहरुले विभाग गठन आचारसंहिता विपरीत भएकाले निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए। संस्थापनइतरका मागमा संस्थापन पक्ष विभाग गठनलाई रोक्ने पक्षमा भने नदेखिएको बताइएको छ।
संस्थापन समूहले महाधिवेशनको प्रक्रियामा धाँधली र अर्को समूहलाई भेदभाव गर्ने कार्य नगरेको जनाएको थियो। बैठकमा सभापति शेरबहादुर देउवाकाे भनाई उदृत गर्दै सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘विभाग पारदर्शी रुपमा गठन भएको छ। विभागमा बस्नुस्। उहीलेदेखि बस्नुस भनेकै हो।’
सहमतिको बाटो खोज्न संस्थापनइतर समूहले सुझाएको थियो। क्रियाशील सदस्यता छानबिन गर्न समेत वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले माग गरेका थिए। साउन मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरणपछि त्यसउपर छानबिन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ। कांग्रेस विधानमा जिल्ला, प्रदेश र केन्द्र गरी तीन तहको छानबिन समिति हुने व्यवस्था छ। क्रियाशील सदस्यता वितरणमा संस्थापन पक्षले मनलाग्दी गरेको भन्दै आपत्ति जनाउँदै आएको इतर समूहले आरोप लगाउँदै आएको थियो। विधानअनुरुप नै क्रियाशील सदस्य वितरण गर्नेमा दुवै पक्ष सहमत भएको नेता सिंहले जानकारी दिए।
क्रियाशील सदस्यता थपका सन्दर्भमा भने दुवै पक्ष सहमतिमा पुगेका छन्। धेरै जिल्लाबाट ५० प्रतिशत क्रियाशील सदस्यता थपले नपुग्ने माग गरेपछि आवश्यकता अनुसार थप गर्ने सहमति बनेको छ। क्रियाशील सदस्यता थप गर्ने सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गर्ने बताइएको छ। निश्चित मापदण्डका आधारमा माग भई आएको अवस्थामा सयमा सय प्रतिशत नै थप्न सकिने गरी नेताहरु सहमत भएका छन्।
नेता सिंहले भने, ‘कतिपय कुरामा सहमति पनि गर्यौं। तर, विधानविपरीत गरिएका विभागको सम्बन्धमा सहमति हुन सकेन। हामीले आफ्नो कुरा राख्यौं। उहाँहरुले कुनै जवाफ दिनुभयो।’
महाधिवेशनको आचारसंहित उल्लंघन नभएको संस्थापन पक्षको जिकिर थियो। ‘क्रियाशील सदस्यको नामावली नै तयार भएको छैन। कसरी आचारसंहित उल्लंघन हुन्छ?’ नेता महतले भने, ‘क्रियाशील सदस्यको उजुरी आयो भने त्यसको छानबिन समिति बनाउने सभापतिले एकलौटी बनाउने होइन।’
आचारसंहिताको कुरा उठाउनुकाे कुनै अर्थ नभएको महतले बताए। उनले भने, ‘उहाँहरुले पनि भन्नका लागि केहि भन्न पर्यो नि। सभापतिलाई निर्णयमा सहयोग पनि नगर्ने निर्णय भएपछि कहाँ हुन्छ भनेर हुँदैन।’ बाहिर विभागको विषयलाई इस्यु बनाए पनि बैठकमा त्यसै अनुरुप नदेखिएको महतले सुनाए।
पूर्व र वर्तमान पदाधिकारीको बैठकमा नेता सिटौला अरुभन्दा छिटो बैठकबाट निस्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।