काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना नियन्त्रणमा सरकारले गर्ने कामले मात्रै नपुग्ने बताएका छन्। सरकारी निवास बालुवाटारमा राजनीतिक दलका नेता र जनस्वास्थ्यविद्सँग मंगलबार भएकाे परामर्श बैठकमा उनले यस्ताे बताएका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले जनतामा चेतना बढाउन सकेमा काेराेनासँग लड्न सजिलाे हुने बताए। उनले भने, 'कोभिड नियन्त्रण सरकारले गर्ने कामले मात्र पुग्दैन, जनतामा चेतना जति बढाउन सकिन्छ कोरोनासँग लड्न त्यति सजिलो हुन्छ।'
उनले संकटलाई विरोध गर्ने अवसरका रूपमा लिने प्रवृत्ति बदल्नु पर्ने बताए। 'यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध,' उनले भने, 'कहिले लकडाउन किन भनेर, कहिले लकडाउन खोलेको भनेर विरोध। महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न।'
छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्ने सुझाव दिएकाे प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। देउवाले भने, 'लकडाउन गर्ने/नगर्ने कुरा समुदायमा संक्रमणको स्तर हेरेर गर्न सकिन्छ। तर, हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नु पर्याे। मुख छोपेर हिँड्न बानी पार्नु पर्याे।'
छलफलमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु र जनस्वास्थ्यविद् सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।