माडी(चितवन)– चितवनको माडीस्थित पाण्डवनगरको सुकुम्वासी बस्तीका बोटे तथा माझी समुदायका विद्यार्थीलाई २ लाख ४० हजार रुपैयाँ बराबरको छात्रवृत्ति सहयोग गरिएको छ।
लायन्स क्लब अफ चितवन सौराहाको संयोजनमा यहाँका विपन्न परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग गरिएको हो। छात्रवृत्तिका लागि अमेरिकन नागरिकले आर्थिक सहयोग गरेका थिए।
८ जना बालबालिकालाई पोषाकसहित एक वर्षलाई पुग्ने स्टेशनरीलगायत सामग्री वितरण गरिएको लायन्स क्लब अफ चितवन सौराहाका अध्यक्ष अरुण रिजालले जानकारी दिए।
यसरी सहयोग गर्ने अमेरिकन नागरिकमा डेविट किन्सले, रिचर्ड तथा बब एण्ड केटी र स्टिभ एण्ड जोन दम्पती रहेका थिए।
सोही क्रममा स्कूल जान प्रेरित गर्ने उद्देश्यले ३० जनाभन्दा बढी बालबालिकालाई समेत स्टेशनरी सहयोग गरिएको सौराहा लायन्सकी सदस्य सानी रिजालले जानकारी दिइन्।
यता चितवन समाज जापानद्वारा चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत बिरामीलाई आइतबार ४० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ। विपन्न परिवारकी क्यान्सर रोगी आकृति थापालाई सो रकम हस्तान्तरण गरिएको हो।
आर्थिक अवस्था कमजोर रहेको जानकारी आएपछि जापानमा बस्ने नेपालीबाट सहयोग संकलन गरी पठाएको रकम सहयोग गरिएको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।
समितिले यसअघि पनि विभिन्न क्षेत्रमा असहाय, बिरामीलाई रकम संकलन गरेर लाखौँको सहयोग गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।