बागलुङ– ढोरपाटन शिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने कार्यमा ढिलाइ भएको छ।
मध्यवर्ती क्षेत्र बनाउन ६ वर्षदेखि गरिएको प्रयासले साकार रुप लिन सकेको छैन। स्थानीयवासीको विरोधपछि ३ वर्षअघि अन्तिम चरणमा घोषणा कार्य रोकिएको थियो। सर्वपक्षीय सहमतिसहित पुनः अघि बढेको घोषणा प्रक्रियाबीचैमा अवरुद्ध बनेको हो।
आरक्ष कार्यालयले माथिल्लो निकायबाट भएको ढिलाइप्रति अनविज्ञता प्रकट गरेको छ। कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा डेढ वर्षअघि नै सीमा सर्वेक्षणसहितको विस्तृत अध्ययन प्रतिवेदन पठाएको थियो। ‘प्रस्ताव पठाएको लामो समय बित्यो। माथिबाट कुनै निर्णय भएको छैन,’ आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने। अघिल्लोको तुलनामा पछिल्लो पटक वैज्ञानिक प्रस्ताव अघि बढाइएको उनको भनाइ छ।
‘अध्ययनपश्चात् विस्तृत रुपमा सीमा सर्वेक्षण पनि गरेका छौँ,’ अधिकृत बरालले भने, ‘विभागले त्यसलाई कसरी लिन्छ। विभाग र मन्त्रालयको निर्णयको प्रतीक्षामा छौँ।’
आरक्ष कार्यालयले पटक–पटक मध्यवर्ती क्षेत्र घोषणाको लागि स्थानीय तहदेखि केन्द्रसम्म दबाब बढाउँदै आएको छ। आरक्ष क्षेत्रभित्र पर्ने बागलुङ, म्याग्दी र रुकुम जिल्लास्थित साविकका १० गाविसलाई मध्यवर्ती क्षेत्रमा समेट्ने योजना छ। जसभित्र ४७ वटा मानव बस्ती छन्। करीब साढे ५ सय वर्ग किलोमिटर क्षेत्रफल मध्यवर्ती क्षेत्रमा समेट्ने गरी प्रस्ताव गरिएको अधिकृत बरालले जानकारी दिए।
मध्यवर्ती क्षेत्र घोषणाका लागि सबै आधार पूरा भएको आरक्ष कार्यालयको दाबी छ। देशभर रहेका १४ वटा निकुञ्ज र आरक्ष क्षेत्रमध्ये ढोरपाटनमा मात्र मध्यवर्ती क्षेत्र घोषणा हुन बाँकी छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।