काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसनमा बसेका 'इनफ इज इनफ' अभियानका अभियान्ता ‘ई’सँग भेट गरेका छन्। पार्टीका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूका साथ सत्याग्रह स्थल बसन्तपुर पुगेर आइतबार दिउँसो वरिष्ठ नेता पौडेलले ‘ई’सँग भेट गरेका हुन्।
भेटमा वरिष्ठ नेता पौडेलले मुलुकमा देखिएका सम्पूर्ण समस्याको जड भ्रष्टाचार भएको बताए। नेकपा नेतृत्वको सरकारले जनताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै सरकारको हेल्चेक्राँईविरुद्ध अभियानमा जुटेका युवाहरुको अभियानका आफू र आफ्नो पार्टीको साथ रहेको पौडेलले बताए। नेता पौडेलले सरकारलाई अटेरी सरकारको संज्ञा दिए।
उनले पिसिआरको दायरा बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न माग गर्दै अभियन्ताहरु अनसन बस्नु दुर्भाग्यपूर्ण भएको पनि बताए। पौडेलले भने, ‘जनताको स्वास्थ्यसँग जोडिएको सामान्य विषयमा अनसन बस्दा पनि नसुन्ने भनेको सरकार साच्चै नै अटेरी सरकार हो। पिसिआरको दायरा बढाऊ, क्वारेन्टाइन व्यवस्थित होस् भनेको छ। अति नै समान्य र अति नै आवश्यक मागहरु लिएर उहाँहरु अनसन बस्नु नै दुर्भाग्यपूर्ण कुरा हो।’
अनसनमा बसेका अनशनकारीको माग सम्बोधनका लागि राज्यले ध्यान नदिएर सरकारले गरिरहेको वेवास्ताप्रति उनले आपत्ति जनाए। पौडेलले १६–१६ दिनसम्म अनशन बस्दा पनि माग सम्बोधन नगर्नु सरकारको चरम लापरवाही भएको बताए। अभियन्ता ‘ई’ विगत १६ दिनदेखि दोस्रो पटक सत्याग्रहमा बसेका छन्। यसअघि उनी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।