काठमाडौं- ‘इनअफ इज इनअफ’ अभियानमार्फत कोराना महामारीमा सरकारको काम गराइप्रति भइरहेको विरोध प्रदर्शनका कार्यक्रम अन्तर्गत शुक्रबार मध्यान्ह १२ बजे बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन तय भएको थियो। तर प्रदर्शन हुन पाएन।
बिहान ११ बजे अगावैदेखि बालुवाटार वरपर हरेक चोकमा खटिएका प्रहरीले प्रदर्शनमा जानै नदिन हरेकलाई पक्राउ गर्दा प्रदर्शन हुन नपाएको हो। प्रहरीले युवा उमेरका हरेकलाई रोक्ने र पक्राउ गर्ने गरिरहँदा प्रदर्शनकारी एक ठाउँ जम्मा हुनै पाएनन्। प्रदर्शनबारे थाहै नपाएका बटुवासमेत प्रहरीको धरपकडमा परे।
भित्रि बाटोमार्फत् बालुवाटार नजिक पुगेका केही युवालाई प्रहरीले पक्राउ गर्दै लैजाने गरिरह्यो। लगातार बाटोमा देखिने हरेकलाई पक्राउ गर्दा बालुवाटारमा केहीबेर स्थिति तनावग्रस्त देखियो। ठूलो संख्यामा रहेका प्रहरीले कोरोना जोखिम बढ्न नदिन आफूहरुले प्रदर्शन रोकेको बताइरहेका थिए।
यसअघि बालुवाटारमा नै प्रदर्शन हुँदा प्रहरीले प्रदर्शनकारीहरुलाई दुवैतर्फबाट घेरेर एक ठाउँ जम्मा पार्ने र पानीका फोहोरा र अश्रुग्यासले तितरवितर पार्ने गरिरहेको थियो। तर शुक्रबार भने शान्तिपूर्ण प्रदर्शन हुनसमेत दिएन।
कोरोना महामारीमा सरकारको काम गराइ राम्रो नभएको र भ्रष्टाचार बढेको भन्दै जेठ २७ गते बालुवाटारबाटै सुरु भएको विरोध प्रदर्शन देशभर फैलिएको थियो। पछिल्लो समयमा पाटन र बसन्तपुरकेन्द्रित विरोध प्रदर्शन र सत्याग्रहलाई सरकारले बेवास्ता गर्दै आइरहेको छ।
अभियन्ताहरु अहिले पनि बसन्तपुरमा १३ दिनदेखि सत्याग्रहमा छन्। यसअघिको सत्याग्रहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भेटेर माग पूरा गर्ने आश्वासन दिएको भए पनि सरकारको काम गराइ सुधार हुन सकेको छैन। यसैको विरोधमा सरकारलाई सचेत गराउन शान्तिपूर्ण रुपमा जम्मा हुन लागेका युवाहरुलाई शुक्रबार प्रहरीले धरपकड गरेको हो।
तस्बिरमा हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।