काठमाडौं- दैनिक बजार अनुगमनमा खटिने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीले आफुहरूले असुरक्षित महसुस गर्न थालेको बताएका छन्। बजार अनुगमनका क्रममा व्यापारी-व्यवसायीहरुले भौतिक आक्रमण गर्ने, गाली गलौज गर्ने र थर्काउने गरेको अनुगमनमा खटिने कर्मचारीको गुनासो छ।
व्यापारीको त्रासकै कारण आर्थिक वर्ष २०७६/७७ मा कारबाहीमा परेका ३ दर्जन बढी व्यवसायिक फर्महरूलाई विभागले शिलबन्दी गर्न सकेको छैन। यसअघि विभागको अनुगमन टोलीसँगै प्रहरी पनि खटिने गरेको थियो। तर, विभागमा खटिएका सुरक्षाकर्मीलाई महानगरीय प्रहरी परिसर टेकुले गत जेठ २३ गते फिर्ता बोलाएपछि अहिले अनुगमन टोली सुरक्षाकर्मीबिनै बजारमा खटिने गरेको छ।
विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले अनुगमनमा जाने कर्मचारीहरूले दैनिकरुपमा आफूहरू असुरक्षित महसुस गर्न थालेको बताए। ‘अहिले विभागको टोलीले स्थानीय प्रशासनलाई जानकारी गराएर अनुगमनस्थलमा खटिन्छ। तर, प्रहरीबाट आवश्यक समन्वय हुँदैन। अनुगमनका क्रममा आर्थिक जरिवाना र व्यवसाय नै शिल गर्नुपर्ने स्थिति आउँदा व्यापारीले कर्मचारीलाई आक्रोश पोख्छन,’ उनले भने।
सुरक्षाकर्मी नभएपछि विभागले दैनिक बजार अनुगमनको संख्या घटाएको छ। सुरक्षा नभएपछि बजार अनुगमनमा खट्ने कर्मचारीको मनोबल कम भएको र उपभोक्ता हित विपरीत काम गर्ने व्यापारीको मनोबल बढेको विभागका सूचना अधिकारी आचार्य बताउँछन्।
विभागबाट खटिएको अनुगमन टोलीलाई मंगलबार पनि व्यापारीले अवरोध गरेका छन्। ट्रेडमार्क दर्ता नगरी कारोबार संचालन गरिरहेको गुह्येश्वरीस्थित बिएनएस पानी उद्योग र सामाखुसीस्थित अर्को एक उद्योगमा विभागले शिलबन्दी गर्याे। शिलबन्दी गर्ने क्रममा उद्योग संचालकहरुले विभागबाट खटिएका कर्मचारीलाई असहयोग गरेको र आक्रमणको प्रयास गरेको अनुसन्धान अधिकृत ध्रुव खनालले नेपाल लाइभलाई बताए। ‘उद्योग शिल गर्नुपर्ने भएपछि संचालकहरूले हामीमाथि आक्रोश पोखें। केहि चर्काचर्की भयो। हामी संयमित भएका कारण भौतिक आक्रमण बाट बच्यौं,’ खनालले भने।
विभागबाट अनुगमनका लागि खटिने निरीक्षण अधिकृत र अन्य कर्मचारीको सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीले व्यापारीलाई फोन गरेको विषयमा महानगरीय प्रहरी परिसरले आपत्ति जनाउँदै त्यहाँबाट ४ जना सुरक्षाकर्मीको टोली गत जेठ २३ गते फिर्ता बोलाएको थियो। हालसम्म अर्को टोली विभागमा खटाइएको छैन।
महानगरीय प्रहरी परिसरले विभागबाट बिनासूचना सुरक्षाकर्मीको टोली फिर्ता बोलाएपछि विभागले अर्को टोली खटाइदिन भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत् उद्योग विभागलाई पत्राचार गरेको थियो। तर, गृहले बजार अनुगमनका लागि सहयोग गर्न भन्दै हालसम्म पनि त्यहाँ सुरक्षाकर्मी खटाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।