कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै। फाइल तस्बिर
काठमाडौं- विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना कोरोना संक्रमण भएको भेटिएको छ। काठमाडौंका ४८ र ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै उपत्यकामा कूल कोरोना संक्रमितको संख्या ४७७ पुगेको छ। अब काठमाडौंमा कोरोना संक्रमित हुनेको व्यक्तिको संख्या ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० पुगेको छ।
मंगलबार देशभर ३११ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा देशभर ३११ जना थप कोरोना भाइरस संक्रमित थपिएपछि कूल संक्रमितकोे संख्या भने १९ हजार ६३ पुगेको छ।
१२१ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म निको हुनेको संख्या १३ हजार ८७५ पुगेको छ।
मंगलबार काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा भेटिएका संक्रमितमध्ये अधिकांश प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत सुरक्षाकर्मी रहेका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार मंगलबार नक्सालका २३ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो। यसअघि त्यहाँ एक हवल्दारलाई संक्रमण देखिएको थियो। उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३ जना प्रहरीमा पोजिटिभ देखिएको थियो। ती तीन जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप २३ जनालाई संक्रमण देखिएको बताइएको छ।
त्यसबाहेक बसुन्धारा, धापासी क्षेत्रमा पनि संक्रमित देखिएका छन्। उनीहरुमध्ये धेरै जना लकडाउन हटेसँगै काठमाडौं बाहिरबाट आएका व्यक्ति रहेको बताइएको छ।
मंगलबार उपत्यकामा हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित पुष्टि भएका छन्। मंगलबार थपिएका ३ सहित उपत्यकामा कुल संक्रमितको संख्या ४७७ पुगेको छ। हालसम्म काठमाडौँंमा ३३६, ललितपुरमा ९० र भक्तपुरमा ५० संक्रमित देखिएका छन्।
महाशाखाले मंगलबार थपिएका अन्यको थप विवरण संकलन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।